मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०४, बिहीवार

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश-१ मा ६०, वाग्मतीमा १, कर्णालीमा ७, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा २ गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको विवरणअनुसार प्रदेश-१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश-१ मा १३, प्रदेश-२ मा १, लुम्बिनीमा ३, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ् । अहिलेसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *