मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २५, शुक्रवार

मिथिलाञ्चल क्षेत्रमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ ।

मधेश क्षेत्रमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक हो चौरचन पर्व। भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।

शुक्रवार जनकपुरसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारतको विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ।

प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ। चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो।

पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

शुक्रवार राति व्रत बसेकी व्रतालु महिलाहरु आ-आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाउँछन्। यस पर्वको लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन्।

साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य फलफूल सामग्री माटोको भाँडामा सजाएर राखिन्छ।

चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्दछिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्दछिन्। त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *