मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १९, शनिवार

भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा १९ औं स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।

इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट र इलेक्ट्रोनिक आइटममा भने २० प्रतिशतसम्मछुट छ ।

इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो । यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो। तर कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रोजेक्ट ढिलो भएको गुरुङले बताए ।

इटहरीको भाटभटेनीका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन् । प्रत्येक ब्लकमा बेसमेन्टसहित ७ तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ ।

मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ । ‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएमहरु राखिएको छ ।

३५ कठ्ठा जमिनमा बनेको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको छ । २ लाख ७७ हजार वर्गफिटमा बनेको स्टोरमा २०४ सिट क्षमताको दुई वटा सिनेमा हल, दुई तले पार्किङसहित पाँच तला रहेको छ । स्टोरमा सपिङ मल, रेष्टुरेन्ट र बैंक समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *