मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २८, बिहीवार

शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो । शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए ।
आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ । आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिए । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।
सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ । चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो ।

यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो । यस पटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ ।संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ । पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिए ।

आयोगका अनुसार प्रावि तहको जिल्ला र निमावि तथा मावि तहका शिक्षकको प्रदेशगत हिसाबले विज्ञापन गरिनेछ । निमावि र मावि तहमा विषयगत हिसाबले विज्ञापन गरिन्छ भने प्रावि तहमा भने विषय छुट्याइँदैन । शिक्षक सेवा आयोगले भदौ महिनाभित्र शिक्षक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ जनशक्तिलाई शिक्षण पेसामा भित्र्याउन सहज होस् भनेर शिक्षक लाइसेन्सको परीक्षा लिइने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *