मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार

कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न शनिबारदेखि एक सातासम्म मास्क अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मास्क अभियान सुरु हुन लागेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने कार्यलाई व्यवहारमा उतारी मानिसको जीवनशैलीलाई परिवर्तन गर्न मास्क अभियान सञ्चालन गरिएको बताए । कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको भन्दै उनले जनस्वास्थ्यमा मापदण्ड पालना नगरेकै कारण सङ्क्रमण बढेको बताए ।

महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजर तथा जनस्वास्थ्य मापदण्ड परिपालनाको भूमिका रहने भन्दै अधिकारीले सबैलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउनुपर्ने बताए । अभियानले ‘म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिने उनको भनाइ छ । मास्क लगाए पनि बोल्दा मास्क फुकाल्ने, मास्क चिउँडोमुनि लगाउने, सही तरिकाले नलगाउने गर्दा समस्या हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *