मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १९, मंगलवार

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्।

‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्।

सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल्नु आफ्नो सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। उनले दुई दशकसम्म समर्थक, परिवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाले माया, हौसला र प्रशंसा गरेको भन्दै त्यसप्रति आफू ऋणी भएको बताएका छन्।

‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु’, उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरबाट सन्यास लिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै ‘बामे सर्दै’ गरेको बताएका छन्। उनले सपना साकार पार्न सबै मिलेर लाग्नुपर्ने बताएका छन्।

‘मेरो जीवनमा मैले देखेको सपना भनको नै नेपाली क्रिकेटको उन्नति हो’, उनले भनेका छन्, ‘तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवशय पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *