वीरगन्ज महानगरपालिकाको नवौं नगरसभा नगरप्रमुख विजय सरावगी (बीचमा बस्ने) , उपप्रमुख शान्ति कार्की र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला । तस्बिर : क्रान्ति शाह

१० असार २०७८ | मुलुक डेस्क

वीरगन्ज महानगरपालिकाले स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षका लागि साढे ३ अर्ब रुपैयाँभन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्ज महानगरले सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याएको हो । 

प्रदेश २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको बिहीबार आयोजित नवौं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिकी संयोजक शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्  ।

विनियोजित बजेट मध्य चालु खर्चतर्फ १ अर्व ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैयाँ अर्थात् ५२.४४ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ  १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय रुपैयाँ अर्थात् ४५.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार रुपैयाँ अर्थात् १.८८ प्रतिशत खर्च हुने अनुमान महानगरको छ ।

बजेटमा सबै भन्दा बढी पूर्वाधार विकास क्षेत्रमा १ अर्व ३५ करोड ६६ लाख १८ हजार अर्थात ३८.१७ प्रतिशत विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात् ३२.५१ , कार्यालय संचालनतर्फ  ८० करोड ७३ लाख ४३ हजार रुपैयाँ अर्थात् २२.७३ प्रतिशत महानगरले विनियोजन गरेको छ । 

आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैयाँ अर्थात् २.८४ प्रतिशत,  सुशासन तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ (वन, वातावरण तथा विपद् समेतमा गरी ) १३ करोड ३२ लाख ७४ हजार रुपैयाँ अर्थात् ३.७५ प्रतिशत र खर्च हुने अनुमान महानगरको छ । 

बजेटको प्राथमिकतामा कोरोना रोकथाम

महानगरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा,कोभिड महमारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख विजय सरावगीले बताए ।

महानगरले स्वास्थ्य क्षेत्रका लागि २१ करोड ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ ।नगरप्मुख सरावगीले भने ,‘ कोभिडलाइ नै लक्षित गरि चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटमा डेढ करोड बढी रकम विनियोजन गरेका छौं।’

यदि महामारी रोकथाम र नियन्त्रणका लागि बजेट अपुग भयो भने विकास निर्माण तर्फको बजेट समेत कटौती गरेर महामारीको विपद व्यवस्थापनमा खर्च गर्ने निर्णय नगरसभाबाट पारित गरिने उनले बताए।

महानगरले कोभिड संक्रमितको उपचारका लागि आफ्नै सुविधासम्पन्न कोभिड अस्पताल निर्माण गर्ने कार्यक्रम पनि ल्याएको उनले बताए । तेस्रो लहरको संक्रमणमा सबै भन्दा बढी बालबालिका जोखीममा पर्ने भनिएकाले हरेक अस्पतालमा कोभिड संक्रमित बालबालिकाको उपचारका लागि कम्तिमा २० शैयाको व्यवस्थापन अहिले देखि नै गरिने उनले बताए । 

महानगरपालिकाले, स्वास्थ्य उपचार सेवामा प्रत्येक नगरवासीको पहुँचका लागि मेयर स्वास्थ्य उपचार सेवा नामक नयाँ कार्यक्रम ल्याएको छ ।  उक्त कार्यक्रम  अन्तर्गत सरकारी स्वास्थ्य केन्द्र नभएका महानगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने ,घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरी शून्य होम डिलेभरी वडाको घोषणा गरिने सरावगीले बताए । 

यस्तै ४ हजार गर्भवती महिला र १० हजार बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने कार्यक्रम पनि ल्याइएको उनले जानकारी दिए । गर्भवती र सुत्केरी महिलालाई लक्षित गरि घरघरमा नर्सीङ उपचार सेवा पनि उपलब्ध गराइने उनले बताए । 

यसका साथै महानगरका सबै वडामा ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य चेकजाच र उपचार गरि छाता र कम्बल वितरण गरिने जानकारी उनले दिए । 
मेयर स्वास्थ्य उपचार सेवा कार्यक्रम अन्तरगत नै  आँखा, नाक कान र घाँटी रोगका बिरामीका लागि हरेक वडामा घुम्ति शिविर संचालन गरी उपचार गरिने सरावगीले बताए । 

यस्तै महानगरका ३२ वटै वडामा गरि चार हजार गभर्वती महिला र १० हजार बालबालिकालाइ पौष्टिक आहारा वितरण गर्ने कार्यक्रम समावेश गरिएको उनले बताए । 
आगामी आर्थिक वर्षको बजेटमा महानगरका ग्रामीण भेगका वडामा विद्यमान खानेपानीको समस्या समाधानका लागि १ हजार चापाकल गाड्ने र भेडाहा खोलाको कटान नियन्त्रणका लागि १० करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी पनि उनले दिए । 

संघ र प्रदेश सरकारबाट चाहे जति रकम आएन

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले वीरगन्ज महानगरले चालू आर्थिक वर्षको आयतर्फ संघीय सरकारबाट वित्तीय समानिकरणमा ४२ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म ३२ करोड १६ लाख रुपैया मात्र प्राप्त भएको जानकारी दिइन्  । 

यस्तै सशर्त तर्फ ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएकोमा अहिले सम्म ६४ करोड ९४ लाख ५१ हजार रुपैयाँ मात्र प्राप्त भएको उनले बताइन् ।  यस्तै राजश्व बाँडफाँड तर्फ २३ करोड ४२ लाख ६७ हजार रुपैयाँ मात्र संघीय सरकारबाट प्राप्त भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । 

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणमा १ करोड १६ लाख २० हजार प्राप्त हुने अनुमान गरिएकोमा ८७ लाख १५ हजार रुपैयाँ मात्र प्राप्त भएको छ ।
 प्रदेश सरकारबाट सशर्ततर्फ .३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा हाल सम्म एक रुपैया पनि प्राप्त हुन नसकेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । 

चालु आर्थिक वर्षमा आधा बजेट खर्च भएन

वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ वर्षका लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बजेट ल्याएको थियो । तर हाल सम्मको अवधिमा १ अर्ब ९९ करोड २८ लाख २ हजार खर्च भई ५१.५९ प्रतिशत मात्र खर्च प्रगति छ ।

पुँजीगततर्फ हालसम्म ९२ करोड ३८ लाख ८३ हजार र चालू तर्फ हालसम्म  १ अर्ब ३ करोड ६५ लाख ५४ हजार मात्र खर्च भएको छ । कोभिड संक्रमणको असरले , चालु आर्थिक पुरा बजेट खर्च हुन नसकेको नगर प्रमुख विजय सरावगीले बताए । 

उनले भने ,‘ तर अझ २० दिन बाँकी छ , थुप्रै कामका बिल भुक्तानी प्रकृयामा छ , असार मसान्त सम्म खर्च प्रगती ८० प्रतिशत पुग्छ होला । नगर प्रमुख  सरावगीकै अध्यक्षतामा भएको नवौं नगरसभाको उद्घाटन सत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला , कार्यपालिका सदस्यहरु , ३२ वटै वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी लगायतको सहभागीता थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *