हिक्मत डंगोल, काठमाडौं । २०८२ कार्तिक १९, मंगलवार

नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत, बंगलादेश र मरिससका ५० जना ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीले काठमाडौंको कला संसारमा नयाँ रंग भरेको छ। आजदेखि सुरु भएको यो प्रदर्शनी तीन दिनसम्म चल्नेछ।

आकार डेकोरको आयोजनामा भएको प्रदर्शनी अन्तर्गत भोलि बुढानिलकण्ठ नगरपालिकास्थित ऐतिहासिक फल्चामा प्रत्यक्ष कला कार्यशाला (Live Art Workshop) सञ्चालन गरिने अध्यक्ष जुजुकाजी श्रेष्ठले जानकारी दिए।
प्रदर्शनीमा नेपालका चर्चित कलाकारहरू चन्द्रा श्रेष्ठ, जया शर्मा, अनिता भट्टराई, विनोदकुमार गुप्ता, विपना महर्जन, दिपान्जली राजभण्डारी, दिपेन्द्रमान बनेपाली, प्रकाश मानन्धर र रेनुका महर्जनलगायतका कलाकारका विविध विषयवस्तुमा आधारित चित्रकृतिहरू प्रदर्शित छन्।

धार्मिक, आध्यात्मिक, सांस्कृतिक र आधुनिक दृष्टिकोणमा सिर्जना गरिएका यी चित्रहरूले नेपालका रंग-संवेदनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका छन्। साथै, विदेशी कलाकारहरूले पनि नेपाली जनजीवन, संस्कृति र भावनासँग गहिरो सम्बन्ध राख्ने विषयमा आधारित कला प्रस्तुत गरेका छन्। कलाका माध्यमबाट अन्तरसंस्कृतिक संवाद र मैत्री सम्बन्ध सुदृढ पार्ने उद्देश्यसहित सुरु भएको यस प्रदर्शनीले नेपाललाई क्षेत्रीय कला–सहकार्यको केन्द्रका रूपमा परिचित गराउने अपेक्षा गरिएको छ।