“मधेशका मुख्यमन्त्री सिंहले गरे थप नौ होटल अनुगमन: सानादेखि ठूला होटलका व्यवस्थापनमा देखियो समस्या”
मुलुक डेस्क, जनकपुरधाम । २०८१ चैत्र ११, सोमवार

सिंह इज किङ्ग शैलीमा बुलेट बाइक चढेर मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । आइतवार सिंहले १० वटा होटल अनुगमन गरेका थिए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका अधिकारी र उद्योग वाणिज्य संघ जनकपुरधामका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीसँगै होटल अनुगमन गरेका मुख्यमन्त्री सिंहले प्रादेशिक राजधानी जनकपुरधाम देशविदेशका पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थल रहेको र पर्यटकीय दृष्टिले छुटाउनै नहुने यस गन्तव्यमा रहेका केही होटलमा स्वस्थकर र स्वच्छ खानाखाजा उपलब्ध नहुने गुनासोपछि आफूले अनुगमन थालेको बताए ।

उनले सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै बहुसँख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको बताए । होटलका लागि स्वस्थ्कर सामग्री र स्वच्छता अनिवार्य शर्त भएको भन्दै मुख्यमन्त्री सिंहले मापदण्डअनुसार होटल सञ्चालन नभए कानुनअनुसार कारबाही हुने पनि बताए । “ उनले होटलमा बिक्रीवितरण हुने सामग्रीको मूल्य व्यवस्थापन गर्न जिम्मेवार निकायसँग प्रदेश सरकारले समन्वय गर्ने समेत बताए ।
अनुगमनमा संलग्न जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले होटलमा देखिएका त्रुटि सुधार गर्न आफूहरूले व्यावसायीलाई आह्वान गर्ने बताए । सोमवाररको अनुगमनमा ९ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताए । अनुगमनक्रममा अत्यधिक सेवाग्राहीको भिड हुने गरेको शिवचौकस्थित न्यु राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइको अवस्था कमजोर देखिएको र त्यहाँ खाना नहुने २० लिटर तेल, प्याज, समोसा र लिटी नष्ट गरिएको छ । दुवै होटललाई अन्तिम पटकका लागि भान्साघरको सरसफाइ मापदण्डअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
जनक चौकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी सामग्री छुट्टाछुट्टै राख्न र भान्साकोठाको सरसफाइ व्यवस्थापन गर्न निर्देशन दिइनुका साथै त्यहाँ रहेका अखाद्य वस्तु ब्रेड, ब्रेडरोटी र मासु नष्ट गरिएको छ । यसैगरी लक्ष्मी मिष्टान भण्डारमा म्याद गुज्रेका च्याउमिन ५ थान, खान नहुने बिग्रेको बर्फी २० पिस नष्ट गरिएका छन् । सो मिष्ठान भण्डारलाई भान्साघर सरसफाइ व्यवस्थापनमा गम्भीर नभए होटल नै बन्द गराउनुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले जानकारी दिए।