मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २४, सोमवार

मधेशी समुदायको पहिचान र व्यक्तित्व झल्किने लघु चलचित्र ‘भाउ’ मा न त मधेशी कलाकार छ न त मधेशको सटिक चित्रण देख्न सकिन्छ । पहाडी वर्गको कलाकार र निर्देशनद्वारा चित्रित ‘भाउ’ पहाडी मानसिकता र नजरले बनाइएको चलचित्र हो । तथापि कथावस्तु र दृष्टिकोणलाई फिल्मले परम्परागत सोछकै आधारमा लादन खोजेको देखिन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ। ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ। टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ ।

तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेशी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ । पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।

भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्र ‘भाउ’मा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ । ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ । उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’ को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *