मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २१, बुधवार

साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ समर्पण गरेको हो ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गरेका थिए।  लाब्री, तेह्रथुमका  कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा  श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका यात्राको सिकर्नी र अहोरात्र जस्ता कृति पाठकमाझ आएका छन् ।

कार्यक्रममा ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’  र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरिएको थियो । कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिया पुरस्कारबाट १० हजार १०० राशिसहित साहित्यकार शर्मा पुरस्कृत  भएका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आआफ्नो मन्तव्य राखेका थिए । यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिया’ बारे कविता वाचन गरेका थिए भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गरेका थिए ।

साहित्यिक पत्रकार सँघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी., साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतकि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *