मुलुक डेस्क, काठमाडौं । २०८० असोज १८, बिहीवार
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरुको उपस्थितिमा अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरकृया कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा. जे एल बैद्य, शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रि. वि. शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका प्रमुख कार्यकारी अजयकुमार मिश्र, मध्यपुर अस्पतलाका निर्देशक डा. रविना प्रधानाङ्ग, चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार रुशा, ब्लु क्रश अस्पलका नर्सिङ्ग प्रमुख अञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभााकार शाक्य, कान्ता भट्ट तथा नविना श्रेष्ठ लागयतकोे सहभागीता रहेको थियो ।
राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रमुख डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा विशेष चर्चा गर्नु हुँदै उक्त अभियानलाई सफल बनाउन उपस्थित सबै अस्पतालका प्रमुखहरुलाई आग्रह गरेका थिए । नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यू हुने र त्यस मध्ये करीब एक हजार जानको मस्तिष्क मृत्यु हुने गरेको तथा ‘ब्रेन डेथ’ दाताको अंगहरु सही सदुपयोग गर्नसके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने संम्भावनामा छलफल भएको थियो ।
विभिन्न अस्पतलाका प्रमुखरुले आफ्नो मन्तव्य राख्दै यस कार्यक्रममा हातेमालो गर्न तत्पर रहेको कुरा बताए भने यसका लागि अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरुहरुलाई पनि सहभागी गराउन सके धेरै विरामीहरुले पुनर्जन्म प्राप्त हुने सुझाव दिएका थिए ।
अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा. चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए भने बेलायलको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा प्रकाश पारेका थिए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्याारोपणको लागि समन्वय इकाई तोकिएको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यू भएमा उक्त इकाइलाई जानकारी गराउनु पर्ने प्राबधान रहेको छ । नेपालको इतिहासमा पहिलोपटक केन्द्रमा हालसम्म मस्तिष्क मृत्यू भएको व्यक्तिबाट १० जनाको मृगौला र ३ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।