मुलुक डेस्क, महोत्तरी । २०८२ मंसिर ०१, सोमवार

महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज श्री जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रम गरेको छ।

बाल क्लबका संयोजक काजिमान विश्वकर्मा र वीरेन्द्र यादव, बाल क्लबको अध्यक्ष चन्दन साह, सचिव प्रेम कुमार साह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल, अमित पसमान, फरमुद अनसारी सहित विद्यालयको प्राविधिक संकाय संयोजक सौरभराज मिश्र, शिक्षक अखलेन्द्र ठाकुर जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएको थियोे ।

बाल क्लबको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको औपचारिक सत्रमा श्री दुर्गा क्याम्पस मनराको सहायक क्याम्पस प्रमुख संजीव सिंहले बाल क्लबको औचित्य र उदेश्यमाथी प्रकाश पार्दै क्लबले यो वर्ष गर्ने भावी कार्यक्रम र योजनाको बारेमा थप प्रष्ट पारेका थिए । पालिकामा भएको आठै माध्यमिक तहको विद्यालयमा वृक्षारोपण, अन्तरकृया, खेलकुदको कार्यक्रम रहेको बताए । कार्यक्रममा जनता माध्यमिक विद्यालय कटैयाका प्रधानाध्यापक बेचन राय, ग्रिन स्कुलको संयोजक रमजनम सहनी, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेकोे थियो।

श्री जनता माध्यमिक विद्यालय कटैयाका प्रधानाध्यापक रायले आफ्नो ७ वर्षे कार्यकालमा विद्यालयले गरेको प्रगति र समन्वयको मर्मलाई साझा गरेका थिए । प्रधानाध्यापक मण्डलले विद्यालयबिच हुने यस्तो अन्तर्कृयाकलाप, वृक्षारोपण तथा खेलकुदको कार्यक्रमले थप उत्साह, सिकाई र मेलमिलापको भावना जागृत गरेको बताए । श्री दुर्गा बाल क्लबले श्री जनता माध्यमिक विद्यालय कटैयाका करिब ५० भन्दा बढी बोटबिरुवा सप्रेम हस्तान्तरण गरे भने कयौं संयुक्तरुपमा विद्यालय प्राङ्गणमा वृक्षारोपण पनि गरे । कार्यक्रमको संचालन बाल क्लबका संयोजक शिक्षक काजिमान विश्वकर्माले गरेका थिए ।
