हिक्मत ड्ङोल, काठमाडौं । २०८२ कार्तिक १७, सोमवार

नेपाल, भारत मरिसस र बंगलादेशका कलाकार सहभागी हुने अन्तर्राष्ट्रिय कला शिविर नोभेम्बर ४ देखि काठमाडौंमा सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कला उत्सव (Dreamscape Nepal 25) कार्तिक १८ अर्थात नोभेम्बर ४ देखि सुरु हुने भएको छ।
तीन दिनसम्म चल्ने यो कला शिविर, कार्यशाला र प्रदर्शनीमा करिब सय जना कलाकार र संगीतकारहरू सहभागी हुनेछन्, जसमा नेपालसँगै भारत मरिसस र बंगलादेशका प्रतिष्ठित कलाकारहरू रहेका छन्।
सांस्कृतिक सहकार्य र सृजनात्मक एकता:
आकार डेकोर प्रा.लि. द्वारा आयोजना गरिएको यो कार्यक्रम “Where Art Touches the Sky” भन्ने मूल नाराका साथ अघि बढाइँदैछ। कार्यक्रमका संयोजक कलाकार प्रभातले जनाएअनुसार ड्रिम्सस्केप नेपाल को उद्देश्य नेपालका कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने र कला, संगीत तथा मूर्तिशिल्पको माध्यमबाट सांस्कृतिक मित्रता विस्तार गर्नु हो। “कला कुनै सीमाभन्दा माथिको भाषा हो। हामी सृजनाको माध्यमबाट देशहरू जोड्दैछौं,” प्रभातको भनाइ रहेकोे छ ।
कार्यक्रमको उद्घाटन नेपाल जर्मन वाणिज्य तथा उद्योग महासङ्घ (NGCCI) का अध्यक्ष सन्तोष चन्द्र कुँवरले गर्नेछन्। उनले कला, उद्योग र पर्यटनबीचको सहकार्यले नेपालको सांस्कृतिक कूटनीतिक प्रभावलाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्। “नेपाली कला विश्व बजारमा एउटा ब्रान्ड बन्न सक्छ, यदि हामीले यसलाई अन्तर्राष्ट्रिय रूपमा प्रोत्साहन दियौं भने,” अर्को कलाकार प्रकास मानन्धरले बताए।
नोभेम्बर ४ देखि ६ सम्म चल्ने कार्यक्रममा चित्रकला, मूर्तिकला र संगीत कार्यशालाका साथै प्रत्यक्ष प्रदर्शन र सांस्कृतिक संवादका सत्रहरू हुनेछन्। कार्यक्रममा दर्जनौं प्रख्यात नेपाली कलाकार, युवा प्रतिभा र विदेशी पाहुनाहरू पनि सहभागी हुनेछन्। कार्यक्रम नेपाल आर्ट काउन्सिल बबरमहलमा हुनेछ।