मुलुक डेस्क, खाँदबारी । २०८२ कार्तिक ०४, मंगलवार

“छ टासीदेले र जोजोलोप्पा,सेवारो,छेजोलो,
फ्याफुल्ला ,सेवा,सेवाले,झोर्ले,नमस्ते, सेवाफो।”
-‘भाडाकुटी’ खण्डकाव्य,बुढाथोकी,ताराबहादुर,२०७४
“राहुल साङ्कृत्यानले देवकोटालाई भारतका पन्त, प्रसाद र निरालालाई एकै ठाउँमा राख्दा मात्र बन्ने बिराट प्रतिभा हुन् भनेका थिए। प्रकृति ,मानव र इश्वरको त्रिकोणात्मक सङ्गममा कविता लेख्ने महाकवि स्वच्छन्दतावादी कवि हुन्। चाहे साग सिस्नुको उज्यालो बाँच्ने जिन्दगीमा आनन्द पाउने सन्दर्भ होस् वा मानिस दिलको उदारताले ठुलो हुन्छ भन्ने प्रसङ्गमा होस्, महाकवि निम्न वर्गको पक्षमा उभिने प्रगतिवादी कविका रुपमा चिनिन्छन्। पसिना विवेकलाई महत्व दिने,प्रकृतिलाई शिक्षाको स्रोत मान्ने र मानव सेवामा ईश्वरको बलियो उपस्थिति हुन्छ भन्ने महाकवि देवकोटा वैज्ञानिक चेतनाबाट मुखरित छन्।” यी हरफहरु महाकविको ११७ औँ जन्मजयन्तीका अवसरमा सभापति ताराबहादुर बुढाथोकीद्वारा १०५७ मीटरको उचाइको खाँदबारी शिखरमा व्यक्त बिचारहरु हुन्।
समीक्षक प्रतिभा एवम् सङ्खुवासभा जिल्लामा प्रहरी प्रमुख कुमार प्रसाद मैनालीको प्रमुख आतिथ्य,विशिष्ट अतिथिका रुपमा हिमालय मावि खाँदबारीका विव्यस अध्यक्ष शेरबहादुर पराजुली, वरुण बहुमुखी क्याम्पस प्रमुख चित्ररेखा अधिकारी, वडा प्रतिनिधि उदिम कुमार राई, हिमालय क्याम्पस सन्चालक समितिका उपाध्यक्ष सेरबहादुर वन, युवा समाजसेवी मेघराज तोलाङ्गी, देवकोटा जागरुक महिला समूहको अध्यक्ष सीता गुरुङ् लगायतको आतिथ्य रहेक उक्त कार्यक्रमलाई समाजका सचिव कवि सनम थापाले सन्चालन गरेका थिए । समाजका उपाध्यक्ष कवि कृष्णबहादुर चापागाईले देवकोटाको र मकालु साहित्य समाजको परिचय दिँदै मन्तब्यद्वारा उपस्थित महानुभावलाई स्वागत गर्नुभयो।

कार्यक्रममा १८ जना स्रष्टाहरुले कविता बाचन गरेर देवकोटालाई सम्झिए। कवि शोम ढुङ्गानाले शहीद कवितामा देख दु:खेको सन्दर्भ चिनाए। युवा कवि सन्तोष बाह्रकोटीले देश जलेको पीडादयी यथार्थ प्रस्तुत गर्दै भ्रष्टाचारप्रति तीब्र आक्रोश पोखे । कवयित्री पार्वती दाहालले शार्दूलविक्रिडित छन्दमा रचित आफ्नो कविता मार्फत अरुण उपत्यकामा भित्र लुकेको भुगोलको घुम्टो अनावरण गर्नुभयो। कवि रविन घिमिरेले “अब म नेताका खोक्रा भाषण सुन्दिन,आमाको सपना पढ्छु।”भन्ने क्रान्ति चेतले ओतप्रोत कविता सुनाए। कवि पार्वती नेपालीले कविता वाचन गर्दै परदेशमा रहेको छोराको यादमा गाउँघर कसरी रुन्छ भन्ने जीवनको मार्मिक छायाँलाई सम्बोधन गरिन्। कवि प्रभात किरण बुढाथोकीले समसामयिक मुलुकको तरल अवस्था र दलहरुको उदासीनताप्रति जनताको आक्रोसलाई लालित्य पूर्ण पदावलीमा व्यक्त गरे ।
कवि तारा घिमिरेले सार्दूल विक्रिडित छन्दमा देवकोटाको योगदानमाथि कलात्मक प्रकास पारिन्। युवा कवि सुजन अधिकारीले “खाडी गएको मदन अझै घर आएन।”भन्ने कविता मार्फत डायस्पोरामा ययावरीय जीवन बिताइरहेको युवा पुस्ता र विछोडको पिडामा रन्थनिएकी आमाको मनोदशा चित्रण गरे। स्थापित छन्द कवि केवल कार्कीले” बन्दैन मान्छे तर”शीर्षकको कविता मार्फत शार्दूल विक्रिडित छन्दमा मान्छेभित्र मानवताको चर्को खोजी गरे।कवि एवम् समालोचक फणीन्द्र खनालले देवकोटाका कृतित्व र व्यक्तित्वको समीक्षात्मक चर्चा गरे। उनले झ्याउरे छन्दको कविताको माध्यमबाट शरद ऋतु र तिहारको जीवन्त वर्णन गरे ।
कवयित्री सुन्दरी खतिवडाले मन्दाक्रान्ता छन्दमा विकृत राजनीति र नेतृत्त्वको भ्रष्टीकरणमाथि सिस्नो पानी प्रहार गरिन्। कवि कृष्णप्रसाद तामाङले” ए बन्दूक बोक्ने बन्दूके भाइ तिमी केको शिकार गर्न हिँडिरहे छौ बन्दूक भिरेर बस्तीमा ?”भन्दै मानव हत्याको विरोध गरी अहिँसातर्फ फर्कन सन्देश दिए। कवि रामप्रसाद लम्सालले कविता मार्फत राजनीतिक नग्नताको चिरफार गरिदिए। कवि भवानी शङ्कर चापागाईले दशै शीर्षकमा अभावको भुमरीमा आएको दशैको चित्रण गर्दै जनहत्यारा रावण चरित्रको विनास गरेरमात्र दशै सुखद् हुने भाव ब्यक्त गरे।

गजलकार साजन राईले गजलमा भ्रष्ट नेताहरुप्रति तीखो प्रहार गरे ।चिचिलाबाट आएका गजलकार सन्तोष साम्पाङले आमाको गहिरो सम्झना गर्दै पुराना कुरामा आमा रमाउने भावलाई प्रतीकात्मक रुपमा व्यक्त गरे।कवि रामकृष्ण भट्टराईले “आगो लगाउनेलाई खरानी मै दशै तिहार भएछ।”भन्ने समसामयिक सन्दर्भमा विनासकारी घटना प्रति तीब्र घृणा र असन्तोष व्यक्त गरे। प्रमुख अतिथि मैनालीले देवकोटाको कृतिहरुमा पाइने काब्य शक्ति र सीमाको चर्चा गरे।देवकोटा प्रति सच्चा श्रद्धाञ्जली दिने हो भने पसिना र विवेक भुल्न नहुने बताए। उनले देवकोटा युगद्रष्टा भएकोले उनीबाट सिक्नुपर्ने प्रशस्त आयाम रहेको चर्चा गरे।
शुभकामना मन्तब्य दिने क्रममा हिमालय माविका ब्यवस्थापन समिति अध्यक्ष शेरबहादुर पराजुलीले देवकोटाको संस्मरणमा भएको कार्यक्रमले नयाँ पुस्तामा जागरण दिने विश्वास व्यक्त गरे।
बरुण क्याम्पसका प्रमुख चित्ररेणा अधिकारीले कार्यक्रमबाट उत्साहित भएको बिचार व्यक्त गर्नुभयो।कार्यक्रमका बिचमा मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीलाई हिमालय माविको प्रअ पदमा हिजोमात्र पदासीन भएकोमा देवकोटा जागरुक महिला समूहद्वारा भव्य सम्मान गरियो।समाजसेवी शेरबहादुर वनले देवकोटा चोकले कविता मार्फत धेरै समयदेखि समाज ब्युँझाइरहेको बताए। सभापति बुढाथोकीले आफ्नो झ्याउरे कविता-
“तराई माथि पहाड छाती शिरमा हिमाल,
गण्डकी कोशी कर्णाली रगत मुटु हो नेपाल।” बाचन गरेर गोष्ठीको समापन गरे । कार्यक्रममा खाजा सेट कथाकार उपेन्द्र कोरङ्गीले, सरसफाइ सृजनशील आमा समूहले, मूर्ति,ब्यानर,खानपा वडा नं.१ ले,कोसी न्युज,मकालु अनलाईन,नागरिक चासो,नागरिक अनलाइन आदि सन्चार माध्यम मिडिया पार्टनर रहेकोमा आभार व्यक्त गरियो।