रमेश लुइँटेल, काठमाडौं । २०८२ असार ३०, सोमवार

चार दशकभन्दा लामो शिक्षा सेवाको उज्यालो यात्राबाट शिक्षक रामाशिष यादव आज बिदा हुँदैछ। वि.सं. २०४४ साल माघ १६ गतेदेखि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिनुभएका रामाशिष यादव आजदेखि औपचारिक रूपमा अवकाश जीवनमा प्रवेश गर्नुभएको छ ।
श्री रत्न राज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरको प्रधानाध्यापकको रूपमा २०७६ मंसीर २९ गते देखि विद्यालयको बागडोर सम्हाल्नु भएका यादवले विद्यालयमा अनुशासन, व्यवस्थापन, र शैक्षिक प्रगतिका थुप्रै स्तरीय उपलब्धिहरू कायम गर्नुभयो। उहाँको कार्यकालमा विद्यालय गुणस्तरीय शिक्षाको प्रतीकको रूपमा उदाएको सर्वसाधारणको निष्कर्ष रहेकोे छ ।
कक्षा १० र ११–१२ को बोर्ड परीक्षा नतिजा उल्लेखनीय रूपमा उत्कृष्ट रहनु, र विद्यालयलाई देशभरमै अग्रपंक्तिमा पुर्याउन सफल हुनु, उहाँको दूरदर्शी सोच, निष्ठा, र सक्रिय नेतृत्वको प्रतिबिम्ब हो।
यादव कर्तव्यपरायण, सरल स्वभावका, र लोकप्रिय शिक्षासेवी हुनुहुन्थ्यो। उहाँको व्यवहारले शिक्षक, अभिभावक र विद्यार्थी सबैको मन जित्यो। उहाँको निर्देशनमा विद्यालयले एक शैक्षिक विकासमा नयाँ उचाइ छोयो, हजारौं विद्यार्थीहरूलाई पनि जीवनको सही मार्गतर्फ डोर्याउन मद्दत गर्यो।
अवकाशको अवसरमा विद्यालय परिवार, अभिभावक संघ, र सम्पूर्ण विद्यार्थीवर्गले उहाँको सद्गुणी योगदानप्रति सम्मान प्रकट गर्दै, आगामी जीवनका प्रत्येक पाटोमा स्वास्थ्य, शान्ति, र सृजनात्मक ऊर्जाको कामना गरेका छन्। शिक्षा क्षेत्रका लागि मूल्यवान सम्पत्तिका रूपमा चिनिएका यादवज्यू, तपाईंको योगदान सधैं प्रेरणाको प्रकाशस्तम्भ बनेर रहिरहनेछ।