मुलुक डेस्क, काठमाडौं । २०८२ असार २२, आइतवार

इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) मधेशभर मनाइदैछ । इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मनाइने यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको छ ।

मधेश प्रदेशका मुस्लिम समुदायले मोहरम पर्वमा ताजिया (दाहा) मेला लगाउने गर्छन् । यतिबेला मधेशका जिल्लामा ताजिया मेला लागेको छ । मुस्लिम समुदायले दाहा बनाए पनि दाहा मेलामा अन्य समुदायको उल्लेखनीय सहभागिता रहने गरेको छ । जनकपुर, लादो बेला, लोहना, महोत्तरीको रौजा, धबौली, मनरा, सम्सी, एकडारा बजारलगायत ठाउँ ठूला दाहा (ताजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इरानसहितका मुलुकमा रहेको छ ।

हजरत हुसेनको बलिदानीको सम्झनामा मुस्लिम समुदायले मोहरममा इमाम हुसेनको मकवरा (चिहान घर) जस्तो बासको दाहा (ताजिया) बनाएर गम अर्थात् दुःख व्यक्त गर्छन्।

#muluktimes #tajiya #tajiyadaha #moharam #islam #festivevibes #Mahottari #Madhesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *