संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०६, मंगलवार

शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस मनरामा मनाएको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । उनको स्मृतिमा जेष्ठ ०५ गते सोमवार श्री दुर्गा माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो।

२०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा दुबे संलग्न रहेका थिए । श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा ७ मा अध्ययनरत् रहेका दुबे बहुदलीय व्यवस्थाको पक्षधरको आन्दोलनम आन्दोलन कै क्रममा कटैयामा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका थिए। नाबालक अवस्थामा वीरगती प्राप्त गरेका दुबे वर्तमान राजनीति सामाजिक परिवेशमा ओझेलमा परेको स्थानीय जनता र परिवारको जनगुनासो रहेको शहीद स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा सबैको निष्कर्षरहेकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व राष्ट्रियसभा सदस्य महेन्द्र कुमार मिश्र रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष जयकिशोर ओझाले गरेका थिए । कार्यक्रममा शहीद दुबेको आमा राम शिकिल देवी लगायत उनको परिवारको सदस्यलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा नगरका पुर्व मेयर संजय सिंह, नेता राजेश्वर ठाकुर, बजरंग नेपाली, राजेन्द्र साह, गोविन्द चौरसिया, मनोज चौधरी, कृष्ण चौधरी, विष्णु कुँवर, शम्भुनाथ झा, लक्ष्मेश्वर ठाकुर सहित स्थानीय बुद्धिजीवीको उल्लेख्य सहभागिता रहेको थियो । स्वागत मन्तव्य विद्यालयका प्रअ कुमोद्कुमार सिंह र विश्लेषण ई श्यामकिशोर सिंह तथा कार्यक्रम संचालन शिक्षाकर्मी एवम् सञ्चारकर्मी संजीव सिंहले गरेका थिए ।