संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०२, शुक्रवार

मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरी जिल्लाको १५ पालिकामध्ये मनराशिसवा एउटा हो । साबिकको ७ वटा गा.वि.स. समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा र २३ वटा गाउँहरू रहेको छ । करिब ५० वर्ग कि.मी. क्षेत्रफल ओगटेको यो नगरको जनसंख्या ५२ हजार भन्दा बढी रहेको छ । मनरा शिसवा नगरपालिकाको सदरमुकाम वडा नम्बर १ “मनरा” मा रहेको छ । मनरा महोत्तरीको सदरमुकाम जलेश्वरदेखि १० किलोमीटर पश्चिम उत्तर दिशामा रहेकोे छ । यहि नगर भएर हुलाकी राजमार्ग गुज्रिएको छ ।

मनराकाे सुत्रधारकाे रूपमा स्व. श्री दिनानाथ उपाध्यायको विरासत रहेको छ । नेपाल भारत युद्धमा उपाध्याय र उनको समुहले अहम र निर्णायक भुमिका खेल्दै अंग्रेज सरकारलाई बरगलाएर सुगौली सन्धी गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । युद्ध विराम गराउन सफल भएका थिए । सुगौली सन्धी पश्चात उपाध्यायलाई तात्कालिन श्री ३ सरकारबाट नेपालमा ५ गाउँमध्ये एक मनरा र अंग्रेज सरकारबाट भारतमा पिपरिया र कर्नौल विर्ता वापत प्रदान गरिएको थियो। मनराको दक्षिणी सिमानामा उहाँद्वारा नै दीनेश्वरनाथ महादेव अर्थात “महादेव मंठ” को स्थापना गरिएको थियो । जुन आज शताब्दीयौं पश्चात पनि यहाँको पहिचान र शान बन्दै आएको छ ।

नेपालकै पुरानो विद्यालयमध्येको एक श्री दुर्गा मा.वि. मनरा ८० वर्षदेखि संचालित रहेको छ । यसैगरी यहाँको प्रसिद्ध धार्मिक मठमन्दिर, विद्यालय, कलासंस्कृती, रितिरिवाज पहिचान र समृद्धिको रुपमा स्थापित रहेको छ ।

