डा. मनोज मुक्ति “विवेक” । काठमाडौं

जताततै लूट मचेको छ,
जो जसले जहाँ जे भेट्यो,
जति भेट्यो, लूट्दै हिंडेका छन् !
र, अझै भन्दै हिडेका छन् !
लूट्न पाऊँ,……………. ।।

के के लुटिएन यहाँ,
के के लुटाइएन यहाँ,
हिसाबकिताब नै छैन,
लुट्ने लुटाउने जति सबै झनै हौसिएका छन्,
लेखाजोखा राख्नेको जो खडेरी परेको छ, यहाँ ।।

त्यसैले त होला,…………………
दिनरात तम्सिएका छन् सबै,
खुल्लमखुल्ला छाती ठोकेरै,
शानले भन्दै गर्दै हिँडेका छन्,
लूट्न पाऊँ, अझै लूट्न पाऊँ ।।

यहाँ जिउँदो रहेन्न कोहि,
जिउँदो लासको चाङ मात्रै देखिन्छ, यहाँ !
जमीर मरेको, चेतनाबिहिन दरिद्रहरु जताततै !
मानवको खोल ओढेका दानवको वस्ती जो छ, यहाँ !
गोहीको आँसु झार्ने जमातको बोलबाला जो छ, यहाँ ।।

किन न होस्,
तन्त्र नै लूटतन्त्र भएपछि !
ठगी खाने ठगतन्त्र भएपछि !
उखानटुक्का हान्ने जोकतन्त्र भएपछि !
त्यसमै रमाउँदै ताली पड्काउने…………,
झोले उत्पादन गर्ने कारखाना “देश” भएपछि ।।

त्यसैले अब बाँकी बसेकाहरु,
सबै उतै लागौं, लुट्नमा जुटौं !
लूटको कीर्तिमान स्थापित गरौं !
इतिहासको पानामा लूटतन्त्रको अध्याय थपौं !
लूटतन्त्रले दिएको अवसरलाई सदुपयोग गरौं ।।

उठौं जुटौं अग्रसर होऔं,
जसजसले जे जति लुटे,
जहाँ जेजति थुपारे,
ति सबै माथी धावा बोलौं !
लूटको माल लुट्न जुटौं ।।

लुट नै धर्म हो,
लुट नै कर्म,
लुट नै संस्कार,
लुट नै संस्कृति,
भन्ने कानुनी मान्यता जो छ यहाँ !

आहार व्यवहार आचरण,
ऐनकानुन संविधान,
शासन, प्रशासन, सत्ता र संयन्त्र !
सबैको एउटै बोली भाषा र धर्म,
लुट्न पाऊँ लुट्न पाऊँ लुट्न पाऊँ ।।

यो लूटतन्त्र हो,
सबैले लुट्न सक्नुपर्छ !
तिनले हामीलाई लुटे,
अब हामीले पनि तिनलाई लुट्न सक्नुपर्छ ।। -२

(डा. मनोज राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *