रमेश लुइँटेल, धनुषा । २०८१ चैत्र २९, शुक्रवार

गैर नाफामूलक संस्थाको रूपमा आफ्नो परिचय बनाउँदै आएको श्री धर्म संस्था इतिहासकै पुरानो संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।धर्मसालाको समेत व्यवस्था रहेको यो संस्था समाजिक कार्यमा सदैव अग्रस्थानमा रहेको छ ।
वि सं २००१ साल चैत्र १० गतेका दिन महोत्तरी मालबाट एक बन्देजपत्र दर्ता पास गराई साविक धनुषा जनकपुर नगरपालिका १ र हाल जनकपुर उपमहानगरपालिका वडा नम्बर १ मिल्स एरियामा “श्री धर्म संस्था : रामस्वरुप साह र रामसागर साह” नामकको संस्था साह दाजुभाइले स्थापना गराएका थिए। तत्पश्चात् शिक्षा स्वास्थ्य धर्म संस्कृति एवम् सनातन धर्मको विकास तथा प्रचारमा टेवा पुग्ने गरी विसं २०४६ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट श्री धर्म संस्थाको विधिगत रुपमा दर्ता गराई हालसम्म सञ्चालनमा रहिआएको छ। यिनै दाजुभाइले आफ्नै नाममा जनकपुरमा प्रख्यात रा रा व बहुमुखी कलेजको स्थापना गरेका हुन् ।
यस प्रकार बन्देजपत्र र विधान अनुसार विभिन्न समयमा संस्थाका संस्थापक सञ्चालक तथा संस्थाका पदाधिकारीहरुद्वारा विकास निर्माणका कार्यहरू संस्थाको पूर्ण लगानीबाट गराइदै आएको छ। हालसम्म पनि भैरव साह लक्ष्मीनिया देवी छात्रवृद्धि कार्यक्रम सञ्चालनमा साथै आर्थिक सहयोग चन्दा आदि सहयोगका कार्यहरू गर्दै आइरहेको छ।
मधेश प्रदेशको राजधानी जनकपुर शहरको मिल्स एरियास्थित रहेको श्री धर्म संस्था बि. स्ं. २००१ सालमा स्थापना भएको हो । ८० वर्षदेखि स्थापित यस संस्थाको संस्थापक स्व. रामस्वरुप साह र रामसागर साह दाजुभाइ रहेका थिए । यस संस्थाको मुख्य काम भनेको सामजिक सेवा तथा धार्मिक कार्यमा बढी संलग्नता रहेको संस्थाका सचिव राम पल्टन साह बताउँछन् । बार्षिक बजेट ५ करोडको रहदै आएको यस संस्थामा करिव २७ जना कर्मचारी रहेका छ्न।

विगत ८० वर्षमा धर्म संस्था मार्फत निर्माण भएका केहि महत्त्वपूर्ण कार्यहरु:-
- कुस्मा सतखोरमा विसं २००१ सालमा साविक मटेश्वरनाथ महादेव हाल सप्तऋषि महादेव मन्दिर शिवालयको निर्माण तथा सञ्चालन।
- जनकपुरको राम मन्दिरको प्राङ्गणभित्र चरणपादुकाको स्थापना तथा मन्दिर निर्माण।
- महोत्तरी जिल्ला पडौलमा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र कारिक स्थानमा विसं २००४ सालमा धर्मशालाको निर्माण ।
- जनकपुरमा अवस्थित गंगासागरको पानीघाट निर्माण तथा वर्षाती घरको निर्माण ।
- नेपाल र भारतको सिमाना जटही नगराइनको जमुनी नदीमा मैत्री पुलको निर्माण ।
- हाल धनुषा जिल्लाको देवडिहा गाउँमा विसं २००१ सालमा सनातन धर्म रक्षार्थ संस्कृत पाठशालाको स्थापना र विद्यालय भवन निर्माण ।
- विसं २००४ सालमा जनकपुरमा श्री सरस्वती हाइस्कुलको भवन निर्माण र सोही स्कुलको प्राङ्गण भित्र सरस्वती मन्दिरको निर्माण।
- विसं २००६ सालमा जनकपुरमा सकल भवन कन्या मिडिया स्कुल भवनको निर्माण र सोही स्कुलको परिसरभित्र गणेश मन्दिरको निर्माण ।
- विसं २०१४ सालमा सरस्वती हाइस्कुलमा रात्रिमा पठनपाठन सञ्चालन हुनेगरी आरआर डिग्री कलेजको स्थापना ।
- जनकपुर अञ्चल अस्पताल निर्माण
- साविक जनकपुर नगरपालिका वडा नम्बर ९ मा र साविक बेङ्गाडावर गाविस वडा नम्बर ८ लालगढमा श्री राधाकृष्ण गौशालाको स्थापना एवं सञ्चालन ।