आर. डी. श्रेष्ठ, काठमाडौं । २०८१ चैत्र ०७, बिहीवार

राष्ट्रिय मधेशी आयोगले आफ्नो छैटौं बार्षिक दिवस कार्यक्रम आज काठमाडौंकाे प्रज्ञा प्रतिष्ठानमा मनाएको छ ।
मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहको सभापतित्व र संविधान सभा उप सभापति इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आयोगद्वारा प्रकाशित दुई पुस्तक ‘मधेशी आयोगको ६ वर्ष अवसर तथा चुनौती’ र ‘राजर्षि जनक दर्शन’ को लोकार्पण पनि गरिएको छ । प्रमुख अतिथि इन्दिरा रानाले मधेशसँग आफू पनि ज्यादै नजदीक रहेको र शब्दसँग भन्दा भावनात्मक रुपमा आफू जोडिएको बताउँदै मधेशका विभिन्न जाति र थरको पंजीकरण गरिनु पर्ने राय प्रस्तुत गरिन्। उनले मधेशसँग जोडिएको प्रतिवेदन सदनमा आउन नसक्नुले दुर्भाग्य भएको बताइन् । मधेशको संस्कृति ज्यादै महत्वपूर्ण रहेको भन्दै उनले सो जोगाउनु नयाँ पिँढीको दायित्व भएकोमा जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोग , दलित आयोग, थारु आयोग, राष्ट्रिय मानव अधिकार आयोग, भाषा आयोग लगायत अन्य विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो। सो अवसरमा मधेश र मधेशी एवम् विपन्न समाजका लागि आयोगले गरेका प्रयास र कामहरुका बारे चर्चा हुनुका साथै सिमित श्रोत साधनका बाबजुत विभिन्न चुनौतीको सामना गर्दै आयोग डटी रहेको कार्यबाहक अध्यक्ष साहले चर्चा गरे । आयोगका सदस्य रेणुदेवी साहले धन्यवाद ज्ञापन दिइन् भने कार्यक्रममा मधेशी लोक गीत तथा सांकृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो ।


