मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०५, मंगलवार

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा २०८१ लाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन मधेश प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट गर्नेगरी निश्चित विधि र प्रक्रिया तय गरेर प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिमार्फत प्रदेशका सबै जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

परीक्षा प्रणालीको निष्पक्षता, पारदर्शीता र विश्वसनियता सुनिश्चित गर्न, परीक्षा प्रणालीप्रति विद्यार्थी, शिक्षक, अभिभावक तथा सिङ्गो समाजको भरोसा र स्वीकृति प्राप्त गर्न, योग्य तथा सक्षम शिक्षकको मनोबल वृद्धि गरी समान अवसरको अनुभूति दिलाउन, परीक्षा सञ्चालनमा स्वार्थ समूहको दबाब वा हस्तक्षेप नियन्त्रण गर्न, ती स्वार्थ समूहको चासोमा हुने गरेको भनिने केन्द्राध्यक्ष नियुक्ति तथा केन्द्राध्यक्षमार्फत केन्द्रमा हुने अनियमितताको अपेक्षालाई सङ्कुचित बनाउन गोलाप्रथाबाटै केन्द्राध्यक्ष नियुक्ति हुनुपर्ने प्रदेश सरकारको सोच रहेको छ । तर, परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि कानुनी रूपमा अधिकारप्राप्त तथा उत्तरदायी प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयविपरीत परीक्षा समन्वय समितिहरूले साबिककै व्यवस्था दोहोर्याउँदै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गरेका र नियुक्ति गर्ने प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७८ (संशोधनसहित) को दफा ९‘ख’ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने र केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति एवम् परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समवय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्थालाई अनदेखा गरी बनाइएको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकालाई टेकेर केन्द्र भएकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएकोमा प्रदेश सरकारको आपत्ति रहेको छ । विधिसम्मत ढङ्गले कार्यसम्पादन गर्ने मूल सामग्री नियमावलीविपरीत पुरक सामग्री मानिने निर्देशिका टेकेर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्यसचिव रहने शिक्षा परीक्षा समन्वय समितिले गरेका केन्द्राध्यक्ष चयनको पछिल्लो प्रक्रिया अस्वीकार्य छ ।

पठनपाठनको गुणस्तर तथा प्रभावकारिता वृद्धि गर्न जिम्मेवार नबन्ने तर अनियमितता गरेर भए पनि परीक्षा उतीर्ण हुने जोखिमपूर्ण तथा आपराधिक मनोविज्ञानलाई बढावा दिनेगरी स्थापित शिक्षा प्रणालीमा सुधार, पछिल्ला दुई दशकयता झाङ्गिदै गएको मास चिटिङको समस्या निराकरण, परीक्षा सुरु नहुँदै प्रश्नपत्रहरू बाहिरिने स्थिति, विद्यार्थीलाई चिट गराउन केन्द्राध्यक्ष र शिक्षकहरूको बढ्दो सक्रियता निर्मूलीकरण र परीक्षा अवधिमा उत्पन्न हुने हुलहुज्जतको अवस्थाको समाप्ति आदिबाट मधेश प्रदेशमा एसइई परीक्षाको गरिमा बढाउन खोजिरहँदा परीक्षा प्रणालीको महत्वपूर्ण पाटो केन्द्राध्यक्ष चयनमा सङ्घ सरकारका कर्मचारीहरू रहने जिल्ला परीक्षा समितिबाट प्रदेश सरकारको निर्देशन अवज्ञा हुनु दुर्भाग्यपूर्ण र प्रत्युत्पादक रहेको प्रदेश सरकारको ठहर छ ।

परीक्षामा विकृति एवम् बेथिति निम्त्याउने अवस्थामा प्रदेश सरकार यसका लागि जिम्मेवार पक्ष र पदाधिकारीको असङ्गत निर्णयको साक्षीकिनारा बस्ने स्थिति किमार्थ छैन । यसले परीक्षा अनुगमन तथा नियमन गर्ने प्रदेश सरकारको प्रयासमा अल्पविराम लगाउने प्रयास भएको छ । यसबाट प्रदेश सरकारसँग समन्वय गरेर मात्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्णय गर्न सङ्घीय शिक्षा मन्त्रीले शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई दिएको निर्देशनसमेत उल्लंघन भएको प्रदेश सरकारको बुझाइ रहेको छ । प्रदेश सरकार र सङ्घ सरकारको निर्देशनलाई चुनौती दिनेगरी भएका केन्द्राध्यक्ष चयनको पृष्ठभूमिका विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाएर परीक्षा प्रणालीलाई मर्यादित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण समेत प्रदेश सरकारको रहेकोे छ । सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा अझै सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराउँदछ । परीक्षामा भयरहित ढङ्गले सम्मिलित हुन पाउने परीक्षार्थीको नैसर्गिक अधिकारप्रति सम्मान प्रकट गर्दै आगामी एसइई परीक्षा स्वच्छ र मर्यादित होस् भन्ने कामना सहित एसइई परीक्षामा सहभागी भाइबहिनीहरुको सफलताको शुभकामना मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा
उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *