मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन १२, सोमवार

स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठको स्वर रहेको छ । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवम् संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिएको छ । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेको हो । गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवम् गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै बान्तु बहुआयामिक व्यक्तित्व भएको भन्दै उनमा विलक्षण प्रतिभा रहेको बताए। ‘हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको म पाउँछु’, कोइरालाले बताए । भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा लेखेको कविता वाचन गरेका थिए । त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उनको व्यक्तित्वको चर्चा गरेका थिए। निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उनी सर्वप्रिय व्यक्तित्व भएको चर्चा गरिन् । मैले एउटा उहाँको गीतमा अभिनय पनि गरेकी छु ।

मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उनका कार्य सामाजका लागि उदाहरणीय भएको जिकिर गरे । बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो । विगत १५ वर्षदेखि निरन्तर मासिक रूपमा मिलाप प्रकाशन गर्दै आएको र पब्लिकेशनमार्फत अन्य केही कृति पाठकमाझ ल्याएको उनले जानकारी गराइन्। हालै मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएको जानकारी गराउँदै उनले चाडै गीतकार जनक रावलको गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहेको बताइन् ।

गीतकार एवं कुशल प्रस्तोता नरेश भट्टराईले सहजीकरण गरेको सो समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो । एक हजारभन्दा बढी गीत रचना गरेका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *