मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २२, सोमवार

ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आउने भएको छ । उक्त आइसियूको सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक समारोहवीच उदघाटन गरेका छन् ।

कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरका अध्यक्ष रामशरण भण्डारीले स्वास्थ्य सेवाको क्षेत्रमा भक्तपुरमै पहिलो गर्ने योजना रहेको सुनाए । भक्तपुरमै ठूलो भौतिक संरचना, स्वास्थ्य उपकरण अनि दक्ष स्वास्थ्य जनशक्ति भएको अस्पताल बनाउने योजना रहेको बताए । यसका साथै भक्तपुरमै पहिलो हेलिप्याडसहितको नौ तल्ले भव्य भबन बनाउने योजना रहेको उनले सुनाए । सकेसम्म यही सरकारको पालामा भवन निर्माण सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको उनले बताए ।

उद्घाटनको अवसरमा मन्त्री पौडेलले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क बेडको व्यवस्थालाई कार्यान्वयन गर्न देशभरका सवै अस्पतालहरुलाई निर्देशन दिएका थिए । कुल बेड संख्याको १० प्रतिशत बेड संख्या उपचार गर्न नसक्ने विरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेका थिए । मन्त्री पौडेलले सकेसम्म त्यसलाई सार्वजनिक गर्नसमेत आह्वान गरे । सक्नुहुन्छ भने एक दिनमा वा एक हप्तामा वा एक महिनामा ककसले निःशुल्क वेडको सेवा लिए, नाम र फोटाे अस्पतालमा टास्नुहोला, जसको फलस्वरुप पैसा भएर पनि निःशुल्क बेड सेवा लिने सोच भएकाहरु ह्तोत्साहित हुनेछन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर दस हजार बढी अस्पतालहरु सञ्चालनमा छन् । तर तिनीहरुले निःशुल्क बेडको यो व्यवस्थालाई कडाइका साथ पालना गरेका छैनन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पतालहरु रहेको र काठमाडौसम्म जानुपर्ने अवस्था नरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *