मुलुक डेस्क, जनकपुरधाम । २०८१ पौष ०८, सोमवार
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितकाे विद्यालय मधेश प्रदेशको राजधानी क्षेत्रमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताएका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका दृष्टिविहीनहरूकाे एक समूहसँगकाे भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितकाे विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताए ।
“जनकपुरधाममा गुठीकाे जग्गा छ । गुठीकाे जग्गाप्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपांगता भएकाहरूका लागि सञ्चालित कुनै संस्थाकाे भवनमा दृष्टिविहीनहरूका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर साेच्नुपर्छ,” मुख्यमन्त्री सिंहले भने । सिंहले दृष्टिविहीनकाे कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने पनि जनाए । मुख्यमन्त्री सिंहसँगकाे भेटमा दृष्टिविहीनहरूले आफूहरूकाे बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारहरूले सुनुवाइ नगरेकाे गुनासाे गरे ।