मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०८, शनिवार

डा. सीके राउतको संस्मरण समेटिएको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ आज लोकार्पण भएको छ। राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले संयुत रुपमा लोकार्पण गरेका हुन्।

कुनैबेला जेल नेल र देशद्रोहीको आरोप लागेको र भोगेका राउत अहिले जनमत पार्टीको अध्यक्ष र प्रतिनिधि सभा सदस्री (सांसद) समेत हुन् । उनकै पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार पनि छ । मधेश सरकारको नेतृत्व मुख्यमन्त्री सतिश कुमार सिंहले गर्दै आएका छन् ।आत्माकथामा डा.भट्टराईले, ‘कुनै समय मधेशलाई स्वायत्त राज्य माग गर्ने बारे थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सीकेसंगै समग्र मधेश र मधेशीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।’

डा. राउतका अनुसार यो पुस्तक इतिहासको कालखण्डको एउटा तस्बिर भएको बताए‍। पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्यविप्लवको अभियोगमा जेल गएको संस्मरण पनि उनले सुनाए।

उनले भने, ‘पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ। वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगें भन्ने रुचीकर कथा यस पुस्तकमा छन्।’

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा. राउतले बताए। समाज उन्नतिको लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए।

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका डा. राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *