राजेन्द्र महतो । २०८० चैत्र ०७, बुधवार

राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सङ्घर्ष मातृभुमिका लागि किताब मार्फत राजनीतिक जीवनीकाे वर्णन गरिएको छ । यो किताबलाई पाइन पब्लिकेसन्सले प्रकाशन गरेको छ । सदियाैंदेखिको विभेद र शोषणको विरुद्ध मधेशमा छ । महिनाैं लामो आन्दोलन भयो । नेपालको इतिहासमा हेर्ने हो भने पछिल्लो पटकको मधेश आन्दोलन तेस्रो जनआन्दोलन थियो । तर दुःखको कुरा नेतृत्वको अपरिपक्वताको कारण आन्दोलन बिना निष्कर्ष मत्थर भयो । जनताले आफ्नो पहिचान र अधिकारको लडाईंमा हार व्यहोर्नु पर्यो ।

सदियौंदेखी हारिरहेका जनतालाई फेरि हराउने नेतृत्वले जनतासँग कहिल्यै माफी माग्ने आँट गरेन । आफैंमा निर्मम भएर समीक्षा गरेन । उल्टै राज्यको बफादार बन्यो । बन्न खोजी रह्यो ।

मधेशी जनतामाथि षड्यन्त्र गर्नेहरूलाई लाग्न सक्छ, मधेश आन्दोलनको अन्त्य भयो । तर उनीहरूले के बुझिरहेको छैनन् भने यो देशमा मधेश र मधेशीमात्र अधिकार एवम् पहिचान विहीन छैनन्। अधिकार एवम् पहिचानका लागि लामो समय देखी छुट्टाछुट्टै लड्दै आएका राष्ट्र प्रेमी राष्ट्रियताहरू पनि अब मधेशसँगै छन् । अनि मधेश पहाडसँग पनि छ । हिमालसँग पनि छ । मधेशीले खोजिरहेको जस्तो अधिकार एवम् पहिचान आदिवासीले पनि खोजिरहेका छन् । जनजातिले पनि खोजी रहेका छन् । पछि पारिएका समूहले पनि खोजी रहेका छन् । देशमा नश्लीय सक्ता र उसका उत्तराधिकारीलाई बाहेक हरेक राष्ट्रलाई आफ्नो राष्ट्रियता चाहिएको छ । आफ्नो ज्ञान सक्ता चाहिएको छ ।

राज्यले गरेको शोषण, दमन र अत्याचारको कारण राष्ट्र र राष्ट्रियताहरूको पहिचान मेटिँदै छ । उनीहरूको अधिकार खोसिँदै छ । उनीहरूको प्रविधि, प्रणाली र ज्ञान खतरामा छ । आफ्नै प्रविधि, प्रणाली र ज्ञान सक्ताले सुसज्जित स्वदेशी राष्ट्र र राष्ट्रियतामाथि शासन गर्ने विदेशीका बफादारहरूले नेपाललाई नेपाल देशका रूपमा राखिराख्न चाहँदैनन् । त्यस कारण उनीहरूले यो देश भित्रका राष्ट्र र राष्ट्रियतामाथि अन्याय गरिरहेको छन् । अब देशलाई देशकै रूपमा राखिराख्न सबै स्वदेशी राष्ट्र र राष्ट्रियता एकै धरामा उभिनुको विकल्प छैन । बहुल राष्ट्रिय राज्य स्थापना नगर्ने हो भने नेपाल देश नेपाल कै रूपमा नरहिरहन सक्छ । अधिकार एवम् पहिचान सहितका बाइसे-चौबिसे राज्य एकीकरण गरी आधुनिक राज्य स्थापना गरेका गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाललाई ‘चार जात, छत्तिस वर्णको फूलबारी’ त्यतिकै भनेका होइनन् । उनले बहुल राष्ट्रियताको महत्त्व बुझेरै त्यसो भनेको हुनुपर्छ । तर दुःखको कुरा न उनका उत्तराधिकारीले यो मर्म बुझे, न राज्यको कुनै नेतृत्वले यो सत्यलाई विचार गर्न खोज्यो । बरु त्यसले एकल नश्लीय चिन्तन सोचले ग्रसित समाजको निर्माण गर्यो । बहुल राष्ट्रियताको शक्ति राज्यले विखण्डनमा मात्र देख्यो । फलतः एक राष्ट्रले अर्को राष्ट्रको राष्ट्रियता माथि शङ्का गर्न अवस्था सिर्जना भयो । जनताले जनतालाई नै सहयोग गर्ने अवस्था समेत बन्न सकेन। अब यी र यस्ता तमाम समस्याहरूको उपचार ‘राष्ट्रिय मुक्ति क्रान्ति’ बाट मात्र सम्भव छ भन्ने मैले मानेको छु ।

पाइन प्रकाशनले प्रकाशन गरेको मेरो राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’मा मैले मेरो यी र यस्ता अनेकन् विषयमा आफ्नो मत राखेको छु । देशले देखेको मधेश र मधेशीले देखेको देशको बारेमा खुलेर लेखेको छु । राज्यले लुकाएर राखेको सत्यलाई पुनः जागृत गर्ने कोसिस गरेको छु । सोही सन्दर्भमा केही आलोचना गरेको छु । केही आत्मालोचना गरेको छु । म उभिएको धरातलबाट आत्म मन्थन गर्ने प्रयत्न गरेको छु । यो किताब पढिसकेपछि आम मानिसहरूको मधेश र मधेशी प्रतिको हेर्ने दृष्टिकोणमा परिर्वनत आउनेमा म आशावादी छु ।

(महतो पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्ति अभियानका अगुवा हुन् .)

Leave a Reply

Your email address will not be published. Required fields are marked *