मुलुक डेस्क, काठमाडौं । २०८० माघ ०१, सोमवार

मधेशी आयोगको सदस्य एवम् प्रकृतिप्रेमी तथा वन संरक्षण अभियन्ताको रुपमा पहिचान स्थापित गर्न सफल व्यक्तित्व हुन् – रेणु देवी शाह ।

वन जंगलदेखि सानै उमेरदेखि लगाव राख्दै आएकी साह अहिले मधेशी आयोगको सदस्य हुन् । सामान्य घरपरिवारमा जन्मेर १६ वर्षे यौवनमै वैवाहिक जीवनमा बाँधिएकी साह तीन दशकदेखि वन क्षेत्रमा संल्गन रहदै आएकी हुन् ।

वनजंगल जोगाउने विषयमा युवा अवस्थादेखि नै जनचेतना जगाउँदै स्थानीय तहमा समूहहरु गठन गर्ने, उपभोक्ता समिति बनाउने र वफरजोन, वन संरक्षणसम्बन्धी शिक्षा दिने, आयआर्जन गर्ने र पर्यावरणीय पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्य रहेको पार्क पिपुल्स प्रोजेक्टमा सहभागी भइन । २०६२ साल वैशाखमा साह कोशी टप्पु वन्यजन्तु आरक्षणको अध्यक्ष बनिन्। साह२०६२ देखि २०७०सम्म दुई कार्यकाल कोशी टप्पु वन्यजन्तु आरक्षणको अध्यक्ष भएर काम गरिन्।

लामो समय वन संरक्षणमा बिताएकी साहलाई स्थानीयले ‘हात्ती आमा’ भनेर चिन्ने गर्दछ्न। उनले वन जोगाउन मात्र पहल गरिनन्, वनसँगै वन पैदावार र वन्यजन्तु जोगाउन समेत काम गरिन्। उनको जीवनको स्वर्णिम समय वनजंगल संरक्षण मै बिते पनि पछिल्लो समय भने समाजका विभिन्‍न क्षेत्रमा योगदान गर्दै आएकी छन्। २०७३ सालमा उनले वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड नेपालको सदस्य रहेर वैदेशिक रोजगारमा विदेशिएका युवाहरुको आवाज बनेर काम गरिन्। २०७४ सालमा राजर्षि जनक विश्वविद्यालयको सभा सदस्य भई मधेश प्रदेशमा शिक्षाको उत्थान र पहुँचका विस्तारमा योगदान गरिन। मधेशलाई मरुभूमि बन्‍नबाट रोक्न चुरो दोहन अन्त्य हुनुपर्नेमा बताउछिन् साह । साहका अनुसार विश्व नै जलवायु परिवर्तनका घटनाबाट चिन्तित बनेको छ तर हामी हिमालका कुरा मात्रै बढी गर्ने गरेका छौं। मधेश खोक्रो बन्दै गएको विषयमा पनि ध्यान दिन जरुरी छ।

स्‍नातकोत्तरसम्म अध्ययन गरेकी ५० वर्षिय साहले वन क्षेत्रमा गरेको योगदान वापत वातावरण संरक्षण महिला पुरस्कार(२०६७), विभूषण अधिकारपत्र(२०६९), अब्राहम कन्जरभेसन अर्वाड (२०७०), गोरखा दक्षिण बाहु (२०७१) लगायतका सम्मान र पुरस्कार प्राप्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *