मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २०, बुधवार

सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनको पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि मुद्दाको पुर्पक्षको लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट असोज १८ गते भएको आदेश बदर गरेको हो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापा चोकमा आरती मृत फेला परेकी थिइन्। माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो। आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो। आरतीका आमा, बुबा र बहिनी विगत ६ महिनादेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘अब निज प्रतिवादीका हकमा पछि बुझिएका प्रमाणबाट ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको किनारा नलागेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम मुद्दाको पुर्पक्षको लागी थुनामा राखी कानुनबमोजिम गर्नु।’

प्रमाणहरूको रोहमा विचार गर्दा आरती साहको मृत्यु प्रतिवादी मोतीबाबु साहको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखिएको अदालतको ठहर छ । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा झुन्डिएर (सम्भावित आत्महत्याको प्रकृति) भनी उल्लेख भएकोमा सोही प्रतिवेदनमा हाइओइड बोन थाइराइड कार्टिलेज इन्ट्याक्ट भनी उल्लेख भएकोबाट झुन्डिएर भन्ने चिकित्सकको राय पछि थप परीक्षणबाट पुष्टि नभएसम्म अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न नसकिने अवस्था रहेको आदेशमा उल्लेख छ।

शव परीक्षण प्रतिवेदनमा सम्भावित आत्महत्याको प्रकृति भनी उल्लेख भएको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलबाट छानबिन हुँदा सोही काउन्सिलको च.नं. १४७/०८०/०८४ मिति २०८०।०५।०३ को पत्रबाट त्यस्तो उल्लेखन त्रुटिपूर्ण रहेको भन्ने देखिएको आदेशमा भनिएको छ। ‘घटनास्थल मुचुल्काबाट घटना भएको कोठामा भुइँदेखि छतसम्म १० फिट र पलङको सतह देखि सिलिङ फ्यानको उचाइ ७ फिट ५ इन्च रहेको देखिएकोमा मृतकले झुन्डिने प्रयोजनको लागी कुनै टुल, मेच वा अन्य वस्तु प्रयोग गरेको भन्ने पनि देखिँदै,’ आदेशमा भनिएको छ । मौकामा कागज गर्ने प्रदीप कुमार साह, शङ्कर कुमार साह र दिलीप कुमार यादवले पनि मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने ब्यहोरा लेखाएको देखिएको पनि जिकिर गरिएको छ ।

अर्का प्रतिवादी मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडीको हकमा भने मुद्दाको पुर्पक्षको लागि थुना मै राख्नु पर्ने सम्मको अवस्था नदेखिँदा १ लाख रुपैयाँ धरौटीमा गरिएको छ ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो। त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो। उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो।

अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो। तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए। त्यसपछि आरतीका आमा, बुबा र बहिनी काठमाडौं पुगेर धर्ना बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *