मुलुक डेस्क, काठमाडौं । २०८० असोज २८, आइतवार

ग्राहक महानुभावहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज मिति असोज २८ गते आइतबारको दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी रू. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ। साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *