रमेश लुइँटेल, काठमाडौं । २०८० असोज १२, शुक्रवार

नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतको रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। नेपाल राष्ट्र बै्कले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदनले भारतको ८८ अर्ब ५९ करोड लगानी रहेको देखाएको हो। यो लगानी २०७८ असार मसान्तसम्मको हो।

प्रतिवेदन अनुसार नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ। चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ।

औद्योगिक क्षेत्रमा ६२.६ र सेवा क्षेत्रमा ३७.३ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ। प्रतिवेदन अनुसार वैदेशिक लगानीमा सञ्चालित कम्पनीको नाफा दर १४.३ प्रतिशत छ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३१ वटा नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्‍लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *