मुलुक डेस्क, काठमाडौं । २०८० असोज १०, बुधवार

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अनेकौं दुर्लभ विश्व कीर्तिमान बनाएको छ । चीनमा जारी एसियन गेम्समा पुरुष क्रिकेट अन्तर्गतको खेलमा नेपालले सबैभन्दा धेरै रन बनाउने, कम बलमा शतक र अर्धशतकको कीर्तिमान बनाएको हो । विश्व क्रिकेटमा नेपालले कीर्तिमानी परिचय स्थपित गरेको छ ।

चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो । यो टी-२० अन्तर्राष्ट्रिय खेलकै सबैभन्दा उच्च स्कोर हो । नेपालले यसअघि अफगानिस्तानको नाममा रहेको २७८ रनको रेकर्ड तोडेको हो ।
नेपालका कुशल भुर्तेलले १९, आशिफ शेखले १६, कुशल मल्लले १३७, रोहित पौडेलले २७ बलमा ६१ रन र दिपेन्द्र ऐरीले १० बलमा ५२ रन बनाए । खेलमा कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व रेकर्ड बनाएका छन् । मल्लले कुल ५० बलमा १३७ रन बनाए । यसअघि अष्ट्रेलियाका डेभिड वार्नर र भारतका रोहित शर्माले ३५ बलमा शतक बनाएर कीर्तिमान बनाएका थिए । मल्लले सो रेकर्ड तोकेका हुन् ।
दिपेन्द्रसिंह ऐरीले नौ बलमै ५० रन बनाएर अर्को विश्व रेकर्ड बनाएका छन् । ऐरीले भारतका युवराज सिंहका रेकर्ड तोडेका हुन् । युवराजले १२ बलमा अर्धशतक बनाएका थिए । ऐरीले नौ बलमै अर्धशतक बनाएर युवराजको रेकर्ड तोडेका हुन् । ऐरीले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले आठ छक्का हिर्काए ।
रेकर्ड नै रेकर्ड:
टी-२० मा सर्वाधिक स्कोर: नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाए ।
सर्वाधिक रन रेट: मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।
सर्वाधिक छक्का: ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेर नयाँ कीर्तिमान बनाए । यसअघि चेक रिपब्लिकले २७८ रन बनाउदा २२ छक्का हानेकाे थियो ।
सर्वाधिक तेज शतक: कुशल मल्लले मात्र ३४ बलमा शतक प्रहार गर्दै दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेश विरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।
सर्वाधिक तेज अर्धशतक: दीपेन्द्रसिंह ऐरी मात्र ९ बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
सर्वाधिक तेज स्ट्राइक रेट: दीपेन्द्रसिंह मात्र १० बलमा अविजित ५२ रन ५२०.०० को स्ट्राइक रेटमा बनाए । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो ।
सर्वाधिक रन अन्तरको जित:
नेपालले मंगोलियालाई २७३ रनको सबैभन्दा ठूलो रन अन्तरले जितेकाे हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।