मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार

रौटहटबाट म्याग्दी आएका जहुर आलम ३० वर्षभन्दा बढी समय दुर्गम बस्ती धवलागिरि गाउँपालिका-५ मल्कबाङस्थित जनजागृति माविमा पढाएर बिदा भएका हुन् ।

छन्त्याल समुदायको बाहुल्य रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुपर्ने विद्यालयमा ३० वर्ष ६ महिना शिक्षण गरेका आलमले २३ वर्षदेखि निरन्तर प्रधानाध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व पनि सम्हालेका थिए ।

तराईदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका आलम अनिवार्य अवकास भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् । यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुन् ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् ।

वडा अध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक,अभिभावकसहित सिङ्गो गाउँवासीले उनलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए ।

एउटै विद्यालयमा तीन दशक बढी समय खर्चिएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए ।

बिदाइ भएर जाँदै गरेका शिक्षक आलमले आफू सेवा निवृत्त भएर घर जान लागेकोमा खुसीभन्दा जीवनको तीन दशक समय बिताएका गाउँ छाडेर जानुपरेकोमा भावुक भएको बताए ।

यही असोज ३ गते नियमित अवकास लिएका शिक्षक आलमलाई गाउँमा बिदाइ गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गरेका थिए । रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा वि.स.२०५० मा म्याग्दी आएका थिए ।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले वि.सं. २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । वि.सं.२०५७ देखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।

वि.सं.२०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पेका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यस अघि नगद एक लाख सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

वि.सं.२०५३ मा परीक्षा दिएर वि.सं.२०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम वि.सं. २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *