मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार

दाइजो र घरेलु हिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र सोनाली कुमारी उर्फ निहारिकालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी रामगोपालपुर नगरपालिकाअगाडिबाट उनीहरू पक्राउ परेका हुन्।

दुई दिन अगाडि मंगलबार साँझ नेहाका श्रीमान् डा. पङ्कज चौधरीलाई प्रहरीले सोही मुद्दामा पक्राउ गरेको थियो। जाहेरीका आधारमा नेहाकी सासू, नन्दलगायतका आरोपीलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका नेहा र सोनालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेहा र सोनाली नेतृत्वको टोलीले नगरपालिका कार्यालयमा ढुंगामुढा र सडक जाम गरेका थिए। स्थिति नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो। दोहोरा झडपमा प्रहरी हवलदार मुकेशप्रसाद यादव र नगर प्रहरी राम दुसिद यादव, गंगाराम राय, सुरेश राय घाइते भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *