कृष्ण सिंह, सर्लाही । २०७९ असोज २०, बिहिवार

केन्द्रको कारण सर्लाहीबाट नेपाली काँग्रेसको अस्तित्व नै समाप्त गर्ने गरि गरिएको चुनावी गठबन्धन आफुहरुलाई स्विकार नभएको बताउँदै आगामी प्रतिनिधि सभा चुनावमा गठबन्धनबाट उठाइएको कुनैपनि उमेदवारलाई साथ नदिने भन्दै क्षेत्र नं २ का सातवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा क्षेत्रका जनताहरुले पार्टीले गरेको निर्णयलाई चुनौती दिएका छन् ।

विजया दशमी,दिपवली तथा छठ पर्वको उपलक्ष्यमा ने.का प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले पार्टीले गरेको उक्त निर्णयलाई चुनौती दिएका हुन । सदरमुकाम मलंगवास्थित जानकी पार्टी प्यालेसमा बिहिवार सम्पन्न भएको कार्यक्रममा बोल्दै स्थानीय तहका जनप्रतिनिधि लगायत काँग्रेस पार्टीका नेताहरुले पार्टीको तर्फबाट सर्लाहीको क्षेत्र न-२ मा नेपाली काँग्रेसको उत्थान तथा विकासका लागि अहोरात्र लागेका एवं हजारौं जनताको साथ र समर्थन समेत रहेको इमानदार, जुझारु, पार्टीप्रति कर्मठ नेता पुर्व सांसद एवं पार्टीका पुर्व केन्द्रीय सदस्य जंगीलाल रायलाई केन्द्रले गठबन्धनको बहाना बनाएर टिकट दिन आनाकानी गरेर नेपाली काँग्रेसका सम्पूर्ण इमानदार सदस्य तथा कार्यकर्ताहरु सँग गद्दारी गरेको बताएका छन् ।

पार्टीको संगठन सर्लाहीको क्षेत्र न-२ को अन्य क्षेत्रको भन्दा बलियो र नम्बर एक रहेको भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा साबित भइसकेको र प्रतिनिधि सभाको चुनावमा पनि यसै पार्टीको अवस्था मजबुत रहने देखिएको भएपनि गठबन्धनको नाममा अन्य पार्टीको उमेदवारलाई टिकट दिएर पार्टीलाई कमजोर बनाउन खोजेको कार्यक्रममा उपस्थित बक्ता नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेसबाट क्षेत्र न-२ मा पुर्व सांसद एवं पुर्व केन्द्रीय सदस्य जंगीलाल राय बाहेक अरु कुनै बिकल्प र असल उमेदवार अरु कोही नभएकाले पार्टीले टिकट नदिए पनि उहाँ स्वतन्त्र रुपमा चुनावी मैदान आउनु भएको अवस्थामा केन्द्रले छनौट गरेको कुनैपनि गठबन्धको उमेदवारलाई साथ नदिइ जंगीलाललाई साथ र समर्थ गर्ने निर्वाचित सम्पूर्ण जनप्रतिनिधि तथा क्षेत्र न-२ का जनताहरुले मञ्चबाट उद्घोष गरेका थिए। साथै उनीहरूले माओवादीको उमेदवारलाई त कुनै परिस्थितिमा पनि मतदान नगर्ने मञ्चबाटै प्रतिवद्धता व्यक्त गरेका थिए।

क्षेत्रिय सभापति कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद रायले पार्टीले टिकट नदिएपनि जनतानै सर्वोपरि रहेकोले जनताकै इच्छा र चाहना र निर्णय अनुसार आफु अगाडी बढ्ने बताए ।

काङ्ग्रेस सर्लाहीका पुर्व जिल्ला अध्यक्ष लक्ष्मण राय तथा पुर्व सांसद ब्रह्म नारायण चौधरीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव, ब्रह्मपुरी गाउँपालिकाका गापा अध्यक्ष राम पदारथ साह, कौडेना गापाका अध्यक्ष रुपेश कुमार ,कबिलासी न.पा का नगरप्रमुख ब्रह्मदेव राय,विष्णु गापा का गापा प्रमुख जवाहर राय,पर्सा गापा अध्यक्ष धिरेन्द्र यादव,जिल्ला कार्यसमिति सचिव मनोज कुमार यादव, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य बद्री नारायण मिश्र, ने.शि.संघ मधेस प्रदेश उपाध्यक्ष भाग्य नारायण मिश्र,सातवटै पालिकाका पालिका उपप्रमुख, वडाअध्यक्ष लगायत सयौं नेता कार्यकर्ता तथा जनताहरुको बक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत कबिलासी नगरपालिका वडा न-९ का वडा अध्यक्ष राम दिनेश रायले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *