
मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार
आगामी प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का मतदाताहरू समक्ष नेपाल विवेकशील पार्टीले संघीय अध्यक्ष कर्मा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको संघीय समितिको बैठकले गरेको हो ।
यश सम्बन्धमा उम्मेदवार कर्मा तामाङ भन्छिन्, “महिला, बालबालिका र सीमान्तकृत समूहहरूको हित हुने तथा सुरक्षा गर्ने, सूचना प्रविधि मार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याउने, वातावरण, संस्कृति र भाषा सुरक्षित गर्ने जस्ता कानूनहरुको लागि वकालत गर्ने उद्देश्य राखी म संसदमा प्रतिनिधित्व गर्न प्रतिवद्ध भएकी हुँ । निर्वाचनमा नतिजा जे आए पनि आगामी पाँच वर्षका लागि काठमाडौँ क्षेत्र नं ५ को समग्र विकासका लागि म प्रतिबद्ध भएर काम गर्नेछु । काठमाडौँ – ५ का मतदाताले आफ्ना समस्याहरू मलाई सुनाउनु हुनेछ, मेरा कुराहरू सुन्नुहुनेछ र हामी सहकार्य गर्नेछौं भन्ने मैले आशा राखेकी छु । ”
“याे देशमा सही नेता सदनमा पुग्दै सही नीति निर्माण गर्न आवश्यक छ । यसैका लागि कर्मा तामाङ जस्तो उम्मेदवारलाई नागरिकहरूलाई विकल्पको रूपमा प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ । उहाँको उम्मेदवारीलाई आम मतदाताले परख गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ ।” पार्टीकी उपाध्यक्ष अजीता राईले भनिन् ।
कर्मा तामाङ पेशागत तथा राजनीतिक अनुभव र सामाजिक कार्यमा समेत संलग्न छिन । ऊनी राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछिन् र उनले कम्प्युटर विज्ञान तथा व्यवसायमा स्नातकोत्तर गरेकि छिन । कर्मा तामाङसंग करिब २० वर्षको पेशागत अनुभव छ। उनले जर्मनीमा करिब १३ वर्ष सूचना प्रविधि क्षेत्रमा काम गरिन् र करिब ४ वर्ष जर्मनीको सरकारी क्षेत्रमा पेशागत योगदान गरि सकेकी छिन ।
उनी जर्मनी हुँदा नै विभिन्न सामाजिक कामहरुमा संलग्न थिइन्। करिब १८ वर्ष एक गैर सरकारी संस्था (Stimme für notleidende Kinder) मार्फत र व्यक्तिगत रुपमा पनि अनाथ घरको संचालन गर्नेदेखि बालबच्चा पढाउने, भूँइचालो वा अन्य प्राकृतिक प्रकोपको बेलामा अर्थ संकलन गरेर सहयोग गर्ने जस्ता कार्यहरुमा बिगतमा संलग्न रहेकी थिईन ।
विवेकशील अभियानमा उनी सुरुवात कालदेखि नै सक्रिय थिइन्। विवेकशील नेपाली दलको अन्तर्राष्ट्रिय संयोजक, बागमती प्रदेश संयोजक र नेपाल विवेकशील पार्टीको अध्यक्षको रुपमा राजनीतिक जिम्मेवारी लिएकी तामाङ नेपालको आर्थिक सामाजिक रुपान्तरणमा आफ्नो हिस्साको योगदान दिन नेपाल फर्किएको करिब ३ वर्ष भयो। उनी जे के कन्सल्टिंग नामक आईटी कम्पनी मार्फत नेपालमा सूचना प्रविधिको काम पनि अघि बढाउन प्रयासरत रहेकी छिन्।