अगनसिंह थापा, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार

रसपूर्ण लिची अनि सद्भावपूर्ण अपनत्व मिल्छ र पो पर्व बन्छन् पलहरू !!

“आउनु लिची खान दाइ । अप्ठेरो नमानेर आफै टिपेर खानुस् । अघाउन्जेल आफ्नै ठानेर ।”

यता यसरी नै भेटै पिच्छे जुना बैनीको लिची जस्तै रुचिकर र रसपूर्ण आग्रह आएको आयै छ । मनमनै तुलना गर्छु म, उता केही शहरीयाको कृतिम भनाइसंग । फरक छ, आकाश जमिनको ।

कहाँ यताको आत्मीयता, सौहार्द्रता र हार्दिकताले ओतप्रोत सरस बोलिबचन । कहाँ उताको सस्तो, सतही र औपचारिकतामा सागुरिएको कुटिल कुरा । ओठमा माधुर्यता ल्याएर बोले पनि ब्यवहार आत्मीय नहुने ।

घरघरी लिची खाइदिन मीठो आदेश आइरह्यो आमाबाट पनि ।
रसिलो लिचीको के कुरा ? बिष पनि पिइदिन तत्पर हुन्छु होला जस्तो लाग्छ । प्रेमपूर्वक कर गरिरहने जोकोहीको मन राख्नैलाई स्वीकार्ने मेरो कलिलो स्वभावको कारण ।

आखिर पुगे बत्तिदै त्यहाँ । जहाँका लाली भरेका लिचीले हावासंगै शालीन शैलीमा हल्लिएर स्वागत गरिरहेका थिए । लटरम्म पाकेको लिचीको डालीडाली चाहार्दै छु स्वतन्त्र चरा बनेर । क्वाप्लाक्क कुप्लुक पारिरहेछु रोजा लिची । गुलियो रसिलो लिची त्यसै स्वादिलो हुने नै भयो । त्यसमा सद्भाव र मायाको स्वाद पनि मिसिएपछि के कुरा गरिसाध्य हुन्छ र स्वादको !

लाग्छ, खानेकुराको स्वाद जिब्रोको ग्रन्थीमा जति हुन्छ । त्यत्ति नै सुखद वातावरणबाट सृजित अनुभूतिमा हुन्छ । कानमा पर्ने आवाज र ब्यवहारबाट तरंगीत हुने भावनाको सीधा प्रभाव मन र शरीरमा परिहाल्छ ।

दिउसैदेखि लिचीको स्वादमा लुट्पुटिदा लुट्पुटिदै लिची कै दाना नदेख्ने साँझ पो परिसकेछ । आजको खाजाको गर्जो टरिसकेको पत्तै भएन । बेलुकीको खानाको लागि पनि पेटको थोरै ठाउँसम्म बाँकी बसेनछ । म यसै भन्न सक्दिन- कति केजी लिची लगालग पेटभित्र पुग्यो ।

लाभकारी र स्वादिलो लिची अनेक बिम्बहरूमा अभिव्यक्त गरिएका हुन्छन् । जस्तै, असल मान्छे लिची जस्ता हुन्छन् । बाहिरबाट हेर्दा बोक्रा जस्तो खस्रा । तर भित्र भने अन्तर्निहित अनेक गुणले भरिपूर्ण ।

थपमा लिचीको गेडा जस्तो केही कडा (नरिबल जस्तो होइन) तर मनमा मैला नराख्ने, अरुलाई नअल्मल्याउने स्पष्ट । सबै मान्छेले लिचीको जस्तै विशेषता बोकेका त हुँदैनन् । बनावटको हिसाबले भने ठ्याक्कै लिची जस्तै तहतह मिलेर बनेको हुन्छ । राम्रा र नराम्रा गुणहरूबाट ।

हामी सबैको जिन्दगी पनि लिची जस्तै त छ । प्रकृति प्रदत्त बाहिरी बोक्रारुपी आवरणभित्र तहैतह छन् सुखदुःखका चाङ । फरक यत्ति हो कसैको भागमा केही सुख बढी होला त कसैको भागमा दु:ख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *