मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १८, आइतवार

चौधरी ग्रुपले आज बैशाख १८ गते आइतवारको दिन आफ्नो अग्रज तथा यस समुहको संस्थापक लूनकरणदास चौधरीको जन्म-शताब्दी मनाएको छ।

व्यापारलाई उद्योगमा रुपान्तरण गरेर नेपालको अग्रणी व्यवसायिक घराना बनेको चौधरी ग्रुपले यस समूहका जन्मदाता लूनकरणदास चौधरीको आइतबार वैशाख १८ मा जन्म-शताब्दी मनाएको छ। चौधरी ग्रुपले यसका लागि ‘लूनकरणदास चौधरी जन्म-शताब्दी समारोह’ कार्यक्रम समेत आयोजना गरेको छ। यसअवसरमा लूनकरणदासका छोराहरु, नाति-नातिनी लगायतका सम्पूर्ण परिवारका सदस्यहरुले लूनकरणदासप्रति आ-आफ्नो श्रद्धा मन्तव्य राखे।

लुनकरणदासका कान्छा छोरा अरुण चौधरीले आफ्ना पिता वास्तविक सेल्फमेड म्यान रहेका बताएका छन्। ‘आजको आधुनिक चौधरी ग्रुपको फाउण्डर हुनुहुन्थ्यो उहाँ,’ उनले पितालाई सम्झिँदै भने, ‘उहाँमा रहेका गुणहरुको १० प्रतिशत मात्रै गुण भएमा पनि मानिसको जीवन पूर्ण हुन्थ्यो होला।’
आफ्ना पिताले पैसा र धनसम्पत्तिलाई कहिल्यै प्राथमिकतामा नराखेको, बरु अरुको पीडा र व्यथामा मल्हमपट्टि गर्नतर्फ ध्यान दिएको उनको भनाई थियो। ‘मानिसलाई कति पैसा कमायो, कति धेरै गरगहना जोड्यो भन्ने विषयले धेरै अर्थ नराख्ने रहेछ।’ उनले पितालाई सम्झिँदै भने, ‘त्यो मानिसले जिवित छउञ्जेल कति मानिसको हृदय छुन सक्यो, कतिको आँसु पुछ्न सक्यो र कतिलाई काँध दिन सक्यो भन्ने कुराले जीवन सार्थक बनाउने रहेछ। त्यसकै मूर्त रुप मेरो बुबा थिए।’

लूनकरणदासकी नातिनी मेगा चौधरी तथा नाति निर्वाण चौधरीले समेत आफ्नो हजूरबुबाको विषयमा मन्तव्य दिएका थिए। मेगाले आफ्नो हजूरबुबाले देखाएको सत्मार्गमा आफू बढिरहने प्रण गरेकी थिइन् भने निर्वाणले हजूरबुबा भिजिनरी व्यक्तित्व, धरातल नबिर्सिने, इथिकल व्यवसायिक सेन्स भएको, समाज र देशप्रति चिन्तित व्यक्तित्व रहेका बताएका थिए। साथै माइला छोरा उद्योगपति तथा चर्चित साहित्यकार बसन्त चौधरीले आफ्ना पिता आफ्नो जीवनमा प्रेरणाको साँझबिहान बनेर उभिएका भन्दै स्मरण गरेका थिए।

१९७९ साल वैशाखमा काठमाडौको मखनटोलमा जन्मिएका लूनकरणदासले नेपालमा व्यापारलाई उद्योगमा विस्तारको काम सुरु गरेका थिए। वैशाख १८ मा उनी जन्मिएको १०० वर्ष पूरा भएको छ। चौधरीको ९३ वर्षको उमेरमा २०७२ सालमा मृत्यु भएको थियो।

लूनकरण नेपाल उद्योग वाणिज्य महासंघ, मारवाडी सेवा समिति, नेपाल चेम्बर अफ कमर्सलगायतका दर्जनौं नेपाली संघसंस्थाका पनि संस्थापक हुन्। उनले जग बसालेको चौधरी ग्रुप अहिले विश्वका अर्बपतिको समूह विलेनियर क्लबमा समेत परिसकेको छ। उनका तीन छोराहरु रहेका छन्। जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् भने माइला छोरा वसन्त चौधरी नेपालमै कहलिएका सफल उद्योगी हुन्। कान्छा छोरा अरुण चौधरी अटो व्यापारमा नेपालमै स्थापित नाम हो।

लूनकरणले बाबु भूरामलको पालादेखि नै चल्दै आएको कपडाको व्यापारलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्रमा पाइला टेकेका थिए। उनले सुरुमा विराटनगरमा जुट उद्योग स्थापना गरेर औद्योगिक क्षेत्रमा पाइला टेके भने निर्माण कम्पनी पनि चलाएका थिए। उनले २०२२ सालमा मोर्डन होजियारी उद्योग कम्पनी स्थापना गरेका थिए जसले मोजा उत्पादन गर्थ्यो। उनको दोस्रो उद्योग नेपाल स्पिनिङ वेभिङ एण्ड निटिङ हो। यसले सेन्थेटिक कपडा उत्पादन गर्थ्यो। तेस्रो उद्योग रत्न स्टेनलेस स्टिल हो। यो उद्योगले भाँडा उत्पादन गर्थ्यो।

साथै चौधरी ग्रुपले लुनकरणकै पालामा सोल्टी होटेलको समेत निर्माण गरेको थियो। विराटनगर जुट मिल स्थापनापछि लूनकरणदासले काठमाडौंबाहिरको क्षेत्रमा पनि आफ्नो व्यापारलाई त्यही बेलादेखि विस्तार गरेका थिए। विराटनगरमा उनले भूरामल लूनकरण दास चौधरी नामको नयाँ कार्यालय सुरु गरेका थिए। जुट निर्यात यो समूहको पहिलो अन्तर्राष्ट्रिय व्यापार हो। जुटको व्यापारसँगै यो समूहले कोरिया र जापानबाट कपडा आयातको काम समेत थालेको थियो।

उनले २०२० सालमा फ्लोरिङ एण्ड फर्निसिङको आउटलेट समेत खोलेका थिए। यो फर्निसिङको शाखा काठमाडौंबाहिर वीरगञ्जसम्म विस्तार भएको थियो। यसले होटल तथा दूतावासको सजावटको काम गर्थ्यो। लुनकरण दासले नै नेपालमा पहिलो पटक डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन्। उनले २०२५ सालमा न्यूरोडमा डिपार्टमेन्ट स्टोर खोलेका थिए।

१९९० सालमा चौधरीका पिताले घुमुवा व्यापार छाडेर इन्द्रचोकमा पसल स्थापना गरेका थिए। यसलाई नयाँ उचाइमा पुर्‍याउने र औद्योगिक क्षेत्रमा प्रवेश गराउने काम लुनकरणले गरेका थिए।चौधरी ग्रुपअन्तर्गत अहिले विभिन्न क्षेत्रमा ४० वटाभन्दा बढी औद्योगिक-व्यापारिक संस्थाहरु स्थापित छन्। यी संस्थामा हजारौंले प्रत्यक्ष रोजगारी पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *