मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १३, मंगलवार

“वैशाख १५ देखि काठमाडौंमा २५ दिन जुत्ताचप्पल मेला, १९ कम्पनीका उत्पादन राखिने, ५०% सम्म छुट ।”

फुटवेयर म्यानुफ्याचरर्स एशोसिएशन अफ नेपालले चौथो व्यापार प्रवर्द्धन मेला आयोजना गर्ने भएको छ। मेला वैशाख १५ देखि जेष्ठ ८ सम्म काठमाडौंको भुकुटीमण्डपमा संचालन हुने एशोसिएशनले जनाएको छ।

करिब २५ दिन चल्ने मेलामा १९ कम्पनीको सहभागिता रहनेछ। उक्त मेलामा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ताचप्पल एकै ठाउँमा पाइने एसोसिएशनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले बताए।

मेला अवधिभरमा करिब साढे दुई लाखजनाले भ्रमण गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा एशोसिएशनको छ।

गर्मी तथा बिहेको सिजनलाई लक्षित गरी स्वदेशी जुत्ताचप्पल कम्पनीहरुले उत्पादन गरेका जुत्ता चप्पल मेलामा राखिनेछ। १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ। आगन्तुक तथा ग्राहकले निःशुल्क प्रवेश गरेर मेला भ्रमण तथा अवलोकन गर्न सक्नेछन्।

नेपालमा १५ सयभन्दा बढी जुत्ता चप्पल उद्योगहरु रहेका छन्।

पछिल्लो समय स्वदेशी उत्पादनलाई उपभोक्ताहरुले मन पराउन थालेको एसोसिएसनले जनाएको छ। यही कारण कुल बजार मागको ६० प्रतिशतभन्दा बढी हिस्सा स्वदेशी उत्पादनले स्थान लिएको दाबी एशोसिएशनको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै नेपाली ब्रान्डको प्रयोगबाट प्रवर्द्धन तथा बजारीकरणका लागि पनि काम गरिरहेको एशोसिएशनले जनाएको छ।

मेलामा शिखर शुज, कोशेली छाला जुत्ता, लालिगुँरास, रोयल, शुभकामना, पवित्रा, रन, स्मार्ट, वान वर्ल्ड, सुरभी, सम्राट, नमस्ते, ओएशिस, किरण शुज्, बोस, फुटस्टेप, नियासा सुज, बेस ग्लोबल, बेस फुटवेयर लगायत १९ स्वदेशी कम्पनीका विभिन्न ब्रान्डका जुत्ताचप्पल राखिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *