
मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १३, मंगलवार
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उत्साहजनकरूपमा मनोनयन दर्ता भएको छ। धेरै पद र धेरै आकांक्षी भएकाले एकै दिनमा मनोनयनको काम गर्न गाह्रो हुने आकलन गर्दै निर्वाचन आयोगले यसपटक दुई दिनको समय तालिका बनाएको थियो। दोस्रो दिन अत्यधिक मनोनयन दर्ता भएको छ।
आयोगको पछिल्लो अप्डेटअनुसार १ लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। सबै जिल्लाको पुरै विवरण तयार हुन केही समय लाग्ने जनाएको आयोगले मंगलबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार महानगर, उपमहानगर र नगरपालिका प्रमुखमा ३ हजार २ सय ७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन परेको छ। गाउँपालिका अध्यक्षमा ३ हजार २ सय ६४ र उपाध्यक्षमा २ हजार २ सय ९६ जनाको मनोनयन दर्ता भएको छ।
वडाध्यक्षमा ३२ हजार २ सय १७, महिला सदस्यमा २३ हजार ५ सय २१, दलित महिला सदस्यमा २१ हजार २ सय २१ र वडा सदस्यमा ४९ हजार २ सय ३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८३ सदस्य गरी कूल ३५ हजार २ सय २१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए। आयोगका अनुसार मंगलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ।
बुधबार र बिहीबार मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बिहीबार उम्मेदवारको नामावली प्रकाशन तथा शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। (रासस)