मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार

घरेलु टोली भारतले साफ यु-१८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली गोल अन्तरका आधारमा च्याम्पियन भएको हो।

समान अंकका वावजुद गोल अन्तरमा पछि परेको बंगालदेश दोस्रो स्थानमा रह्यो । भारत र बंगलादेशले समान ४ खेलबाट ९ अंक जोडेका थिए। भारतले प्रतियोगिताभर २ गोलको विरुद्ध १३ गोल गरे भने बंगलादेशले ४ गोलको विरुद्ध ७ गोल गरे । भारत र बंगलादेशबीच १-१ गोलको बराबरमा खेल समपन्न भएको थियो।

भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशको तर्फबाट एक्लिमा खातुनले खेलको ७४औं मिनेटमा गोल गरेकी थिइन्।

भारतकी लेन्डा कोम सेर्टोले च्याम्पियनसिपको मोस्ट भ्यालुएवल खेलाडी तथा सर्वाधिक गोलकर्ताको अवार्ड जितिन्। उनले च्याम्पियनसिपमा कुल ५ गोल गरेकी थिइन्। बंगलादेशले फेयर प्ले अवार्ड जित्यो।

च्याम्पियनसिपमा नेपाल भने सबै खेलमा पराजित हुँदै अंकविहीन भएर प्रतियोगिताबाट घर फर्किएको छ। नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्‍यो भने मात्र ४ गोल गर्न सक्यो । नेपालले पहिलो खेलमा आयोजक भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र पुनः भारतसँग तेस्रो खेलमा ५–१ र अन्तिम खेलमा बंगालदेशसँग २-१ ले पराजित भएको थियो ।

मार्च १५ देखि २५ सम्म भएको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *