हेमलता सुवेदी , २०७८ चैत्र ०७ गते सोमबार । काठमाडौं

सौन्दर्यले समस्त सुन्दर भौतिक चीजहरु प्रतिको आकर्षण लगायत सजिव प्राणीको रुप हरेक गुण आनीबानी ब्यवहार आदि कुराहरुलार्ई सम्बोधन गरेकोले आज यहाँ नारी सौन्दर्य र समाजको दृष्टिकोणको ब्याख्या गर्न आवश्यक छ । हुन त यो कुनै नयाँ विषयवस्तु होईन ता पनि समय समयमा देखिएको नारी प्रतिको ब्यवहारले गर्दा केहि चर्चा गर्न मन लाग्यो । सौन्दर्य परम सत्य र एउटा दिब्य शक्ति हो जुन ब्यक्तिको बाहिरी रुप बाट मात्र नभएर ब्यापक स्वरुपको गुण बाट झल्किन्छ । पुरुष भन्दा नारी लाई अत्याधिक मात्रामा शारीरिक रुप सौन्दर्य संग जोडेर तुलना गरिन्छ तर के केवल बाहिरी रुपनै मात्र नारीको उचित मुल्यांकन हो त ? अवश्यनै सुन्दरताको उपस्थिति हरेकको लागि मन मोहक हुन्छ चाहे प्रकृतिको सुन्दरता होस या मानव प्राणीको रुप सौन्दर्य किन नहोस हरेकको मनलाई आकर्षण गर्छ ।

तर नारी सौन्दर्यको कुरा गर्दा नारीलाई केवल उसको बाहिरी रुपको आर्कषणबाट मात्र होइन भित्रि सुन्दरता नारीत्व गुणलाई बुझ्नका लागि यस समाजका संकुचित वर्गको सोचाइमा परिवर्तन आउन जरुरी छ जसले गर्दा महिलाहरु कुण्ठित र अपहेलित हुन न परोस । प्राणी जगतमा सुन्दरतामा उदारताको भाव भएन भने यसको कुनै मोल हुदैन । भित्रि सुन्दरता आफनो गुणले मात्र हरेकलाई सभ्य शालीन ब्यतित्वको रुपमा चिनाउन सफल हुन्छ ।

एउटा परिवारको जग निमार्णमा नारी पुरुषको समान सहभागिता भएता पनि परिवारको ब्यवस्थापनमा नारीले अहं भूमिका खेल्छिन जसले गर्दा परिवारमा प्रेमपूर्ण उदारताको भाव , सभ्य र अनुशासित वातावरणको निर्माण हुन्छ र सुखी परिवार बन्छ तसर्थ नारीत्व गुणलाई समाजले बुझन जरुरी छ । धेरै जसो समाज घरपविारको संकिर्ण बिचारका कारणले नारीहरुले आफनो अस्तित्व गुमाउन पूगेका छन कतिपय नारी रुपको घमण्डले आफनो धरातललाई बिर्सि अध्यारोमा हिडरहेका छन् , नारीहरु पनि बाहिरी सौन्दर्यका लागि आफनो गुणलाई बिर्सेर वस्त्र आभुषणको पछाडि मात्र दौडिनु मुर्खता हो ।

हाम्रो समाजमा प्रकृतिको देवी शक्तिको रुपमा नारी (देवी) लाई घरघरमा परापूर्वकाल देखि पूजिदै आएता पनि नारी शक्तिको महत्वलाई नबुझे झै गरी महिलालाई कहिले उसको रुपबाट दाँजेर कहिले निसन्तान महिलाको संज्ञा दिएर एउटा तुच्छ साधनको रुपमा स्थापित गराउनमा समाज पछि पर्दैन । मदर टेरेसा, ममता बैनर्जी जस्ता कैयौ सौम्य गुणले युक्त महिलाहरुले पनि सौन्दर्यको प्रतिनिधि गरेका छन् ,बाहिरी रुपको सुन्दरता भन्दा भित्रि सौन्दर्य आफनो गुणको विकासद्धारा संसारमा यिनीहरु चिनिन सफल छन् ।

महिलाको नारीत्व गुण केवल रुपबाट मात्र पूर्ण हुन्छ भन्ने समाजको कमजोर मानसिकतामा अझै परिवर्तन आउन जरुरी छ । नारीको ब्यापक स्वरुपद्धारा कतिपय साम्राज्यहरु घुँडा टेक्न बाध्य भएका इतिहास प्रमाणित उदाहरणहरु भएता पनि समाजले नारी प्रति हेर्ने दृष्टिमा कहिल्यै आमुल परिवर्तन ल्याउन सकेन । घर परिवार समाजको संकिर्ण विचारले गर्दा कैयौं महिलाहरु आफनो बाहिरी रुपको कमिले गर्दा आफुलाई कमजोर निरिह ब्यक्ति ठानेर मानसिक रोगको चपेटामा पुग्न जान्छन् । आगामी दीनहरुमा यस्ता रोगहरुले विकराल रुप नलेला भन्न सकिन्न जसले गर्दा एउटा परिवार तहस नहस हुन पुग्छ जसलाई सबैले बुझन् आवश्यक छ । हुन त अहिलेको ग्ल्यामरसको समय र दुनियामा महिलाहरु पनि आफुलाई रुपश्रृगार साज संज्जाको आधारमा अगाडि ल्याउन र चिनाउन पछि न परेता पनि अन्त्यमा महिलाहरु बाहिरी सौन्दर्य मात्र अन्तिम सन्तुष्टि होइन भनेर आध्यात्मिकताको बाटो अपनाएका ज्वलन्त उदाहरणहरु हामीहरुले सुनी रहेका हुन्छौ ।

विश्व प्रसिद्ध सुन्दरी राजकुमारी डायना पनि राजसी ठाटबाठ बाट टाडा गएतापनि रुप सौन्दर्य मात्र अन्तिम होइन भन्नी बुझेर आफ्नो आत्म सन्तुष्टीका लागि सामाजिक कार्यहरु गर्न थालेकी थिइन् । तसर्थ महिलाहरुले पनि आफनो शक्ति गुणको विकास गर्दै हरेक नारीले आफुलाई हेर्ने दृष्टिकोण र समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएर सुन्दर सभ्य समाजको निमार्ण गर्न आजको दिनमा नितान्त आवश्यक छ ।

हेमलता सुवेदी
लेखिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *