मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २६, बिहीवार

नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी नतिजा आएको छ । निर्वाचनमा उत्तर प्रदेशका मुख्यमन्त्रीले जित हात पारे भने उत्तराखण्डका मुख्यमन्त्री पराजित भएका छन्।

दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए। प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुन: बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन्।

कुल खसेको ९१ हजार ३२५ मतमध्ये विजयी भएका कपाडीले ४७ हजार ६२६ मत प्राप्त गरे भने धामीले ४० हजार ६७५ मत पाएका थिए । उत्तराखण्डमा भाजपाले ७० मध्ये ४७ सिटमा अग्रता लिएको छ।

यसैगरी गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कीर्तिमानी जीत हासिल गरेका छन्। गोरखपुर सीटमा ५४ हजार ८५८ को फराकिलो अन्तरले जितेका योगीले ८५ हजार ३५६ मत प्राप्त गरे। प्रतिद्वन्द्वी समाजवादी पार्टीकी उम्मेदवार सुभवती शुक्लाले ३० हजार ४९८ मत पाइन् ।

उत्तरप्रदेशको इतिहासमा कुनै पनि पार्टीले दोहोर्‍याएर सत्ता चलाएको उदाहरण छैन । योगीले उत्तर प्रदेशमा एउटै पार्टी दुई कार्यकाल लगातार सरकार सञ्चालन गर्ने कीर्तिमान कायम गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *