सुजीतकुमार झा | २०७८ फाल्गुन २२. आइतबार

मिथिला मध्यमा परिक्रमा शुरु भइसकेको छ । नेपाल भारत सीमा क्षेत्रको गाउँगाउँमा अहिले छुट्टै उल्लास छ । त्रेता युगदेखि रामसीतासँग गाँसिएको साइनो वर्तमान अवस्थामा विभिन्न धार्मिक अनुष्ठानका माध्यमले जीवन्त गरिन्छ । देशमा बदलिएको राजनीतिक घटनाक्रम वा राजनीतिक परिवर्तनहरूले ऐतिहासिक र पौराणिक सम्बन्धलाई कुनै असर पार्न सकेको छैन । परिक्रमाको तयारी सरकारीस्तरमा त्यो रुपमा नभएपनि घर घरमा महिनोदेखि भइरहेको हुन्छ । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा लाखोको सहभागिता हुने गरेको स्थानीयवासीहरु बताउँछन । तर बृहत परिक्रमा गर्नेहरु पनि आफनो हिसाबले सहभागिता जनाइरहेको हुन्छ । ‘परिक्रमाका सहभागी राती गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्ने गरेको,’ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

स्थानीय बासीहरुले उनीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी समान लिएर जाने टायर गाडीका गोरुका लागि परालसमेत उपलब्ध गराएका छन् । उनीहरुलाई निशुल्क रुपमा भोजन गराउने पराम्परा रहेको छ । हुनत धेरै व्यक्ति आफै भोजनको सबै सामग्री लिएर त्यहाँ पुग्ने गर्छन । परिक्रमामा गत ४० वर्षदेखि सहभागि हुँदै आएकी प्रेमा देवीले आफू खानादेखि बासको सबै समान लिएर प्रत्येक वर्ष सहभागि हुने गर्छौ बताइन । ‘जोसँग धन आफै छ उसले अरुको सेवा लिनु हुँदैन,’ उनले बताइन ।

२६ वर्षदेखि लगातर परिक्रममा सहभागि हुँदै आएकी मधुबन्नीवाली भनिने महिलाले हामीले कहिलेपनि निशुल्क भोजन गरिन सधै आफै बनाएर खाने गरेको बताइन । सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउँछन् । यो यात्राबाट यस लोकमा आत्म शान्ति र परलोकमा प्रभुको शरण पाइने यात्रामा सहभागीको विश्वास छ । दृढ संकल्प र मनमा भगवानप्रतिको आस्थाले मात्रै यस कठिन यात्रालाई तय गर्न सघाउँछ । १५ दिनसम्म घरपरिवारबाट छुट्टिएर सात्विक भई नांगो खुट्टा यो यात्रा तय गरिन्छ । ‘पहिला त बाटोहरू कच्ची थिए । चिसो माटोमा हिँड्दा खासै अप्ठ्यारो थिएन’, ५८ वर्षीय परिक्रमा यात्री जयमंगला देवी झा भन्छिन्, ‘अहिले बाटोहरू पक्की भएका छन् । रोडा पत्थरहरूको प्रयोग बढी छ । नांगो खुट्टा हिँड्दा साह्रै कष्ट हुन्छ ।’


परिक्रमा यात्रामा निस्कने यात्रीले यात्रा अवधिभर सात्विक भोजन गर्नुपर्ने हुन्छ । यात्रीहरूले माछा, मासु, प्याज, लसुन, मुसुरोको दाल लगायतका ‘अशुद्ध’ मानिएका भोजन गर्दैनन् । खाना पनि विश्रामस्थलमा पुगेपछि मात्रै खान पाइन्छ । यात्रामा १५ दिनका लागि अन्न बोकेरै यात्री निस्कन्छन् ।

कतिपय मठमन्दिरको डोलासँग हिँड्नेहरूले खाने र पिउने सरसामान बयलगाडामा राखेर पैदल यात्रा गर्छन् । प्रत्येक पडावस्थलमा पुग्दा अस्थायी टहरा बनाएर भुइँमै ओछ्यान गरी बस्नुपर्ने हुन्छ । परिक्रमा यात्री विश्रामका लागि पडाव स्थलहरूमा पहिलादेखि नै ठाउँ निर्धारण हुन्छ । विश्रामस्थलमा भजनकीर्तन गरी यात्रीले रात काट्छन् । यात्रामा बालबालिकादेखि ८० नाघेका वृद्धवृद्धाको सहभागिता रहेको पाइएको छ । त्यस्तै धार्मिक लस्करमा साधु, सन्त, योगी महात्मालगायत सर्वसाधारण नरनारीको सहभागिता रहने गरेको छ । विगत ९ वर्षदेखि यात्रामा सहभागी हुँदै आएका महोत्तरी रामगोपालपुरकी ७० वर्षीया जानकीदेवी र धनुषा भगवानपट्टिका ७५ वर्षीय अगमलाल कापरलाई मिथिला परिक्रमाको यात्राले यसलोकमा शान्ति र परलोकमा स्वर्ग प्राप्ति हुने विश्वास छ । ‘यो साधना हो, यसले शरीरलाई मात्र नभई मन र विचारलाई समेत स्वस्थ रहन्छ’ दुवैले भने, ‘प्रभुको नाममा गरिने परिक्रमाले बाँचुन्जेल शान्ति र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ ।’
महोत्तरीको परौल निवासी ५० वर्षीया कैलाशीदेवी गत वर्षदेखि माध्यमा परिक्रमामा सहभागी हुन थालेकी छन् । उनी यस वर्ष पनि परिक्रमा यात्रामा निस्केकी छन् । हनुमाननगरमा भेटिएकी कैलाशीले भाकल भगवानले पूरा गरेको बताइन् । सुनाउँछिन्, ‘भगवानले गत वर्ष एउटा र यस वर्ष अर्को नाति दिएपछि परिक्रमा यात्रा गर्न आएको छु ।’


६५ वर्षीय मोनी राय पहिलो पटक परिक्रमामा सहभागी भएका छन् । ‘मेरो घरपरिवार, छिमेकीहरू पहिलादेखि नै परिक्रमामा आउँथे’, धनुषाधाम निवासी राय भन्छन्, ‘म त अहिलेसम्म घरपरिवारमै अल्झेर बसेको थिएँ तर यसपालि सोचें यदि अब पनि धर्मकर्म गरिनँ भने जीवन बितेपछि के गर्ने ? त्यसैले धर्म गर्न आएको छु ।’ सिरहाका ६० वर्षीय साधु महिमा दास पछिल्लो ४५ वर्षदेखि परिक्रमामा निरन्तर सहभागी भइरहेको अनुभव सुनाए । ‘सानैदेखि मठमा गएर साधु बनें । घरपरिवारबाट सन्न्यास लिएँ । मेरा गुरुसँगै परिक्रमामा सहभागी हुन थालें । जबसम्म बाँच्छु, तबसम्म परिक्रमा गर्छु’, दास निकै खुसी हुँदै सुनाउँछन् ।

यात्रालाई प्रवद्र्धन र व्यवस्थापन गर्नतर्फ तीनै तहको सरकारको उदासीनता देखिन्छ । हुन त परिक्रमा यात्रा जुन जुन गाउँ वा सहर भएर जान्छ, त्यहाँका स्थानीयले यात्रीलाई सक्दो स्वागत सत्कार गर्दै आएका छन् । तर, परिक्रमा विश्रामस्थलहरूलाई व्यवस्थित गर्न कतैबाट ठोस पहल भएको छैन ।

‘पर्यटन प्रवद्र्धनको नाममा लाखौं करोडौं खर्चने मधेस सरकारको आँखा यस यात्रामा पुग्न सकेको छैन’, किशोरीजी डोलाका महन्थ नवलकिशोर शरण भन्छन्, ‘पहिला त संघीय सरकारले गरेन भनेर दुःखी हुन्थ्यौं । अहिले आफ्नै गाउँघरमा सरकार छ तैपनि यस यात्रालाई हेर्न सकेको छैन ।’ परिक्रमा यात्रीहरूलाई खानेपानी, शौचालय र विश्रामस्थलहरूमा धर्मशालासमेतको बन्दोबस्त हुन नसक्दा यस ऐतिहासिक यात्राप्रति आकर्षण घट्दै गएको देखिन्छ । हुनत परिक्रमाको महत्वलाई देखेर भारत सरकार परिक्रमा मार्गको मर्मत सम्भार गरिरहेको छ । भारतका इकजिव बैंकक ऋण सहयोगमा सो कार्य अगाडी बढाइएको छ । एक अरब ५० करोड २९ लाख २८ हजार ७२८ रुपैयाको लागतमा मध्यपरिक्रमा सडकक निर्माण तथा मर्मत सम्भार काज भइरहेको छ ।

परिक्रमाको प्रारम्भ

सबै ग्रह सूर्यको परिक्रमा गर्छन र सबै ग्रहको साथ लिएर यो सूर्य महासूर्यको परिक्रमा गर्छन । हिन्दू धर्ममा पवित्र स्थलको चारैतिर र श्रद्धापूर्वक चल्नुलाई ‘परिक्रमा’ वा ‘प्रदक्षिण’ भनिन्छ । जो षोडशोपचार पूजाको एउटा अंग हो । संसारको सबै धर्ममा परिक्रमाको प्रचलन हिन्दू धर्मकै देन रहेको भनि आएको छ । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख गरिएको छैन । भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रुपमा लिने गरिन्छ । आफना अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्दा पुण्य प्राप्त हुने धर्मशास्त्रमा बर्णित छन । मन्दिरमा देवी देवताको पूजा पछि त्रिपेक्षण गर्नु परिक्रमाकै रुप रहेको धार्मिक जानकारहरु बताउँछन । ‘प्रगतं दक्षिणमिति प्रदशिणं’ भनिन्छ । प्रदक्षिणमा व्यक्तिको दाहिना अंग देवतातिर रहेको हुन्छ । ‘शब्दकल्पदु्रम’ मा भनिएको छ । देवताको उदेश्य लिएर दक्षिणावर्त भ्रमण गर्नु प्रदक्षिणा हो ।

विज्ञानको दृष्टिले हेरियो भने शारीरिक ऊर्जाको विकासमा मन्दिर परिक्रमाको विशेष महत्व रहेको छ । भगवानको मूर्ति र मन्दिरको परिक्रमा हरेक समय दाहिने हाथतिरबाट शुरू गर्नुपर्छ, कारण प्रतिमामा आवश्यक सकारात्मक ऊर्जा उत्तरबाट दक्षिणतर्फ प्रवाहित हुँदै आएको छ । बाया हाथ तिरबाट परिक्रमा गर्नाले यस सकारात्मक ऊर्जाबाट हाम्रो शरीरमा टकराव हुन्छ, यसकारणले परिक्रमाको लाभ भेटाउँदैनन् ।

मिथिला महात्मयमा वर्णन गरिएको मध्यमा परिक्रमाको प्रारम्भ १८औ शताब्दीभन्दा केही पूर्व भएको मैथिलीका बरिष्ठ साहित्यकार एवं सांस्कुतिकविद् डा. राजेन्द्र विमलको कथन रहेको छ ।
आधुनिक जनकपुरधामको पुनः परिचित गराउने महात्मा सूर किशोर दास परिक्रमा मार्ग पत्ता लगाएपछि सोही मठका सीताप्रसाद र बराही मठका सुरदास साधु मध्य मिथिला परिक्रमाको आरम्भ गरेको केही इतिहासकारहरु दावी गर्छन् । भनिन्छ २०औँ शताब्दीको आरम्भमा जनकपुरधाममा रामानन्दीय वैष्णव साधुहरु पाँच दिनको परिक्रमा शुरु गरेका थिए ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयास सराहनीय छ । सो मन्दिर अहिले पनि नेतृत्व गर्ने गर्छ । नेतृत्वलाई लिएर सो मन्दिर र जनक दुलारी कुटी बिच मुद्दा मामिलासम्म भएको थियो । मुदा वि.सं. १९९०मे जिल्ला अदालत मिथिला नै विहारी कुटीको पक्षमा फैसला सुनाएको थियो । परिक्रमामा सहभागि हुनाले एक सय आठ तिर्थ स्थान दर्शनको फल प्राप्त हुने जनविश्वास रहेको छ ।

परिक्रमाको १५ दिन

नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर सहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ । फागुन प्रतिपदाका दिन भक्तजनहरु कलाणेश्वर पुग्छन् । त्यसैले एक राति पहिले नै अमावस्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला विहारीको डोला संगै राति विश्राम गर्ने परम्परा रहेको छ । हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पुर्वी क्षेत्रमा पर्छ । कलाणेश्वरबाट गिरिजा स्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको थियो । दोस्रो वासको रुपमा महोत्तरीको मटिहानी रहेको छ । तेस्रो दिन जलेश्वर, चौथौँ दिन मड़ै, पाँचौ दिन ध्रुवकुण्ड, छठौँ दिन कञ्चनवन, सातौँ दिन क्षिरेश्वर नाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषाधाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एगारहौँ दिन करुणा, बारहौँ दिन बिसौल र त्यसपछि कलाणेश्वरमा पुगी परिक्रमाको पुर्णाहुती हुन्छ । अन्तगृह परिक्रमाका लागि पुनः दर्शनार्थी जनकपुरधाममा पुग्छ । पूर्णिमाका दिन जनकपुरधाममा अन्तगृह परिक्रमा गरिन्छ । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको संख्यामा सर्वसाधारणले जनकपुरको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन् ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथीमा मिथिला बिहारी र किशोरीजी भगवानको डोला्सहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्दछन् । अन्तरगृह परिक्रमा गर्यो भने १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने आस्थाका साथ सहभागी श्रद्धालुहरु यात्रा सकेर जानकी मन्दिर, राम मन्दिरमा दर्शन गरेपछि होली पर्व सुरु हुने बताउँछन् । १५ दिवसीय परिक्रमाका यात्रुहरु जनकपुरमा आएपछि दुई दिनसम्म मासु माछा र मदिरा बिक्री वितरणमा समेत स्थानीय प्रशासनले रोक लगाउने गर्दछ ।
सोही कारण जनकपुरमा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली मनाउने प्रचलन छ ।

विश्राम स्थलहरुको आफ्नै महत्व

परिक्रमाको क्रममा ४वटा महादेवको महत्वपूर्ण मन्दिरहरु पर्छन् । सो चारवटै मन्दिर मिथिला नरेश जनकसंग सम्बन्धित छन् । कलाणेश्वर, जलेश्वरनाथ, क्षिरेश्वर नाथ र सतोषर चारै स्थलमा प्रत्येक दिन राजर्षि जनक पूजा गर्नका लागि पुग्थे । यसका अतिरिक्त गिरिजा स्थानमा राम जानकीको पहिलो भेट भएको थियो । त्यस्तै मटिहानीमा जानकीको मटकोर भएको मानिन्छ । धनुषा धाममा भगवान रामद्वारा सीता स्वंयम्बरको समयमा तोडिएको धनुषको एक भाग यही छ । करुणाको विषयमा भनिएको छ राम जानकीको विवाह पछि महाराज जनक करुणा सागरमा डूबेका थिए । र त्यही सीताराम प्रतिक स्वरुप मूर्ति बनाएर राखेका थिए । कञ्चनवनमा स्वयं रामजानकी चारै भाई र बहिनी संग होली खेलेको भनिएको छ । सोही स्थलमा डोला पुगेपछि होली महोत्सव हुन्छ । कलाणेश्वर महादेवलाई मनोकामना सिद्धि गर्ने महादेव भनी जनविश्वास गरिएको छ ।जलेश्वर जहाँ भगवान् शिव जलमा निवास गर्छन् । जलेश्वरनाथ महादेवको नामले नै यस सहरको नामकरण भएको हो ।मडैबाट षष्ठी तिथिमा परिक्रमा छैटौं दिन धु्रवकुण्ड आइपुग्छ । महात्मा धु्रवले यस स्थानमा कठोर तपस्या गरेका थिए । त्यसैले यस स्थानको नाम धु्रवकुण्ड पर्न किंवदन्ती छ । यात्राको आठौं पडाव हो, पर्वता । यो पाँच पर्वतको संगमस्थल रहेको जनविश्वास छ । परिक्रमाको क्रममा विभिन्न स्थलमा विभिन्न उत्सवहरु समेत हुन्छ । जस्तै कञ्चनवनमा होली, मटिहानीमा मटकोर, मड़ैमा विवाह उत्सव, विसौलमा कढ़ी बरी खाने परम्परा रहेको छ ।

बृहत मिथिला परिक्रमाको स्वरुप

बृहत मिथिला परिक्रमा पूर्वमा कोशी नदीमा स्नान तथा सिंहेश्वरनाथ महादेवको दर्शन एवं पूजन गरेर प्रारम्भ हुन्छ । त्यहाँबाट दक्षिण पश्चिम दिसा जाने कोशी र गंगा नदीको संगम स्थल कुरसेला घाटमा स्नान र त्यहाँबाट बटेश्वर नाथ महादेवको दर्शन गर्ने गरिन्छ । फेरी पश्चिम दिशामा गंगा र गण्डक नदीको संगम स्थलमा स्नान तथा हरिहरनाथ महादेवको दर्शन गर्ने गरिन्छ । फेरी त्यहाँबाट उत्तर पश्चिम दिशामा वाल्मिकी आश्रमको नरायाणी बाँधमा त्रिवेणी धाममा स्नान गरेर कामेश्वरनाथक दर्शन तथा बरघाटमा नारायणी स्नान गर्दै उत्तर पूर्व दिशामा श्रद्धालुहरु जान्छन् । क्रमशः उत्तर वाहिनी कमला नदीमा स्नान गरेर उत्तर पूर्व पुगेर त्रीयुगा नदीमा स्नान गरी फेरी कोशी पुलमा पुगी कोशी स्नान र सिंहेश्वर नाथको दर्शन पूजा गरेपछि बृहत मिथिला परिक्रमा पूरा हुन्छ । यो परिक्रमा सवा दू महिनाको हुन्छ ।

कुन भगवानलाई कति चोटी परिक्रमा

भगवानलाई परिक्रमा गर्ने चलन हिन्दू धर्ममा पौराणिकै कालदेखि रहिआएको छ । सूर्य देवलाई सात, श्रीगणेशलाई चार, भगवान विष्णु र उहाँको सबै अवतारलाई चार, देवी दुर्गालाई एक, हनुमानजीलाई तीन, शिवजीलाई आधी प्रदक्षिणा गर्ने नियम रहेको छ । शिवजीलाई आधी प्रदक्षिणा नै गर्ने परम्परा रहेको छ, यससम्बन्धमा मान्यता छन जलधारीलाई लांघनु हुँदैन । जलधारीसम्म पुगेपछि परिक्रमालाई पूर्ण मानिन्छ ।

यानि कानि च पापानि जन्मांतर कृतानि च ।
तानि सवार्णि नश्यन्तु प्रदक्षिणे पदे–पदे ।।

यस मंत्रको अर्थ हुन्छ जान–अनजानमा गरिएको र पूर्वजन्मको सबै पाप प्रदक्षिणाका साथ–साथै नष्ट भइहालोस । परमेश्वर मलाई सद्बुद्धि प्रदान गरोस ।
परिक्रमा कुनै देवमूर्ति वा मन्दिरमा चारैतिर घूमेर गरिन्छ । केही मन्दिरमा मूर्तिको पछाडी र भित्ताको बीचमा परिक्रमाको लागि ठाउँ हुँदैन, यस्तो अवस्थामा मूर्तिको अगाडी गोल घूमेर पनि प्रदक्षिणा गर्न सकिन्छ धार्मिक जानकारहरु वताउँछन ।

सुजीतकुमार झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *