मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०३, मंगलवार

जबर्जस्ति कारनीका अभियुक्त शिवराज श्रेष्ठलाई जिल्ला अदालत धनुषाका ५ नम्बर बेन्चका न्यायाधीश प्रशुराम भट्टराईले गत साता सफाइ दिएको विरुद्धमा पीडित निहारिकाले न्यायका लागि प्रशासनदेखि अदालतसम्म र
महिला अयोगदेखि मधेशी आयोगसम्म दौड लगाई रहेकी छिन् ।

न्याय नपाएको भन्दै न्यायका लागि भौतारिदै रहेकी कुमारी आमाको नामले प्रसिद्ध निहारिका राजपुतले मधेशी आयोगमा आज उजुरी दर्ता गराएकी छिन् । समाजिक अभियन्ता सावित्री सुवेदीसंगै निहारिकाले आफ्नो उजुरी आयोगकी सदस्य आभासेतु सिंह समक्ष आज पेश गरेकी हुन् ।

निहारिका प्रकरण:

बलात्कार अभियोग लागेका धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठलाई सफाइ दिएको विरोधमा जिल्ला अदालत धनुषाअगाडि गत साता पीडित निहारिका सिंह लगायत महिलाकर्मीले नारा लगाएकी थिईन । गत सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो ।

श्रेष्ठको बलात्कारबाट आफू गर्भवती भएको भन्दै उनले उजुरी दिएकी थिइन् । हाल उनको साढे दुई वर्षको छोरा छ। सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर अधिकारकर्मीसंगै प्रदर्शन गरेकी थिइन् । आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाव दिएको उनले बताएकी छन् । तीन वर्षअघि जनकपुरधाममा पढ्न बसेकी निहारिका र श्रेष्ठबीच प्रेम सम्बन्ध थियो । निहारिकाका अनुसार श्रेष्ठले गर्भ फाल्न दबाव दिएका थिए । उनले गर्भ नफाल्ने अडान लिएपछि श्रेष्ठ वेपत्ता भएका थिए । झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछि सफाइ दिएको छ ।

श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् । महिला अधिकारकर्मी सविता यादव, कल्याणी चौधरी लगायत प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले अदालतले पीडितलाई झन् पीडित र पीडकलाई झन् शक्तिशाली बनाएको टिप्पणी गरे ।

निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेको अवस्थामै सरकारी वकीलले सोमबारको पेशी सर्ने छ भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो । फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएकी थिइन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताइन् । ‘श्रेष्ठले पैसा लिएर गर्भ फाल भनेको टेलिफोन रेकर्डसहित सबै प्रमाण अदालतमा दिएकी थिएँ । तैपनि मैले न्याय पाइनँ’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *