बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ २८, शुक्रवार

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा लामो समयदेखि जग्गाको भोगचलन गर्दैआएका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।

वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएपश्चात पुर्जा वितरणको कामलाई प्राथमिकतामा राखेको बताए । पुर्जा वितरणको कामलाई छिटै सम्पन्न गर्न पनि उनले आग्रह गरे । जग्गाधनी प्रमाणपत्र नभएका कारण आमनागरिकका छोराछोरीको पढाईदेखि विभिन्न काम गर्नमा समस्या हुनेगरेको उनले बताए ।

व्यापार व्यवसायदेखि लिएर धेरैजसो कामकाज गर्न ऋण लिनुपर्ने बेलामा पनि जग्गाधनी प्रमाणपत्र नभएका कारण धेरैजसो गरिब व्यक्तिलाई समस्या हुनेगरेको भन्दै त्यस्ताखालका समस्या समाधानका लागि वर्तमान सरकार गम्भिर रहेको बताए । नापी विभागका महानिर्देशक प्रकाश जोसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा ९२६ कित्ताको ४६७ वटा पुर्जा वितरण गर्ने कार्यक्रम रहेको बताए ।

धनुषाका प्रमुख मिश्रकै बिशेष पहलमा बिहीवार ३७३ जनालाई र बाँकी रहेकालाई आज शुक्रबार बितरण गरिएको थियो । धनुषाको साविक ९१ वटा गाविसमा नापनक्सा गर्न छुट भएकाहरुका लागि २०६४ साल मंसिर महिनाबाट नापनक्सा शुरु गरिएको र हालसम्म १३९३ हेक्टर जग्गा नापनक्सा कायम गरिएको समेत उनले बताए ।

हालसम्म धनुषाको ११ वटा गाविसमा जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको मिश्रले बताए ।
अझै धनुषामा ८३ हेक्टर जग्गा नापनक्सा गर्न बाँकी रहेको उनले जनाए । कार्यक्रममा जग्गाधनी प्रमाणपत्र प्राप्त गरेपछि स्थानीय अकबर कबारीले खुशी व्यक्त गर्दै सरकारले आफुहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेर ठूलो कार्य गरेको बताए । त्यसैगरी अर्का स्थानीय अमितकला महराले आफनो परिवारले भोगचलन गर्दैआएको जग्गाको जग्गाधनी प्रमाणपत्र नभएका कारण कसैले ऋण समेत दिन नमानेको गुनासो गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह, नापी विभागका उपमहानिर्देशक सुशिल ढंगोल, जनकपुरधाम उपमहानगरपालिका १९ का वडा अध्यक्ष जगदिस यादव, नापी विभागका निर्देशक दामोदर ढकाल लगायतको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *