उपेन्द्र खनाल | पौष २०७८

कृषक निर्मल अधिकारीले आफनै बगैचामा भएको सुन्तला विक्रि गरेर यसवर्ष मात्रै ८५ लाख रुपैयाँको कारोबार गरेका हुन् ।

म्याग्दे गाउँपालिका-२ उमाचोकका अधिकांस कृषकलाई यतिखेर सुन्तला टिप्न भ्याइनभ्याइ छ । खेतवारीमा लगाएको सुन्तला बोटैभरि लटरम्म पाकेपछि उनीहरु सुन्तला टिप्न व्यस्त भएका हुन् । बोटमा पाकेको सुन्तला टिपेर कृषकले खरिदका लागि आएका व्यापारीलाई विक्रि गर्ने गरेको कृषक निर्मल अधिकारीले बताए । उनका अनुसार अहिले सुन्तला पाकेको छ । व्यापारीहरु पनि सुन्तला लिन आएका छन् । त्यसैले यहाँका अधिकांस कृषकहरु सुन्तला टिप्न व्यस्त भएका हुन् । ‘मैले पनि मेरो बगैचामा भएको सुन्तला विक्रि गरेको छु । यसवर्ष मात्रै मैले ८५ लाख रुपैयाँको सुन्तला विक्रि गरे,’ उनले भने । उनले मात्र नभई अर्का कृषक सुकनारायण मल्लले पनि यसवर्ष ६० लाख रुपैयाँको सुन्तला विक्रि गरेका छन् । सुन्तला विक्रि गरेर मनग्य आम्दानी गरेको उनले बताए । ‘सुन्तलाको गोडमेल, मल तथा स्याहारसुसारका लागि करिव दश लाख रुपैयाँ खर्च भएको छ । व्यवसायका लागि लागत कम लाग्ने र आम्दानी पनि बढी हुने भएकाले पनि सुन्तला खेतीतर्फ आकर्षित भएको हुँ । यसवर्ष खर्च कटाएर दश लाख रुपैयाँ बचत भएको छ,’ उनले भने ‘यहाँका कृषकहरु सुन्तला बेचेरै लखपति बने ।’

पछिल्लो समय कृषितर्फ आकर्षित हुने युवापिँढीको संख्या बढ्दै गएको छ । वैदेसिक रोजगारीमा गएर पनि कमाइ राम्रो नभएपछि धेरैजसो युवापिँढी कृषि कर्ममा लागेका हुन् । राम्रो आम्दानी हुने भएकाले पनि त्यस क्षेत्रका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । अहिले उमाचोकको पखेराभरिका बगैचामा सुन्तला लटरम्म फलेका छन् । त्यहाँको सुन्तला मिठो र दाना पनि ठुला भएकाले व्यापारीहरु काठमाण्डौदेखि गाउँसम्मै लिन आउने गर्दछन् । गतवर्ष अत्यधिक वर्षा भएकाले दाना पनि सानो हालेको र विक्रि पनि कम भएको थियो । त्यस्तैगरी कोभिडका कारण पनि सुन्तला विक्रिमा समस्या थियो । तर यसपटक भने सुन्तलाले राम्रो दाना हालेको र स्वदिलो पनि रहेको कृषक रमेस क्षेत्रीको भनाइ छ । यसवर्ष उमाचोकबाट करिव तीन करोड रुपैयाँको सुन्तला विक्रि भैसकेको छ भने केही सुन्तला अझ पनि बगैचामै छ । केही बगैचाको सुन्तला विक्रि भएपनि कतिपय बगैचाको भने विक्रि हुन बाँकी नै छ । सुन्तलाको उत्पादन राम्रो भएपछि त्यस क्षेत्रका अधिकांस कृषक सुन्तला खेतीतर्फ लागेका छन् । विदेसमा गएर पनि खासै कमाइ नभएपछि गाउँमै आएर सुन्तला खेती गरेको स्थानीय हिक्मत अधिकारीले बताए । उनले भने ‘मैले सुन्तला खेतीसँगै गाउँमै होटेल पनि खोलेको छु । लामो समयसम्म विदेसमा काम गरेपनि सोचे अनुरुप कमाइ नभएपछि यही नै व्यवसाय गर्न थालेको हुँ ।’

गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा १५ प्रतिसत वृद्धि हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । वैदेशिक रोजगारीमा गएर आएकाहरु पनि अहिले गाउँमा नै कृषि गर्नमा तल्लीन छन् । जिल्लामा गतवर्ष २१ करोडको सुन्तलाको कारोबार भएको थियो भने ६ हजार ९ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । उत्पादन भएका सुन्तला काठमाडौ, पोखरा, चितवन लगायतका ठाउँमा निर्यात हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *