मुलुक डेस्क, काठमाडौं ।२०७८ माघ ०१, शनिवार

धार्मिक र पर्यटकीय रूपले महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा छ। नेपालकै ताजमहलका रूपमा चिनिएको खड्ग शम्शेरद्वारा निर्मित पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रूपमा विकसित गरिएको छ। उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री सङ्ग्रहालयमा राखिएको छ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन भएको बताए।

रु. १५ लाखबाट थालनी भएको काम हाल करिब रु.३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताए। उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु. १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए।

नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्न सकिएको बताए। उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको बताए।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ।

विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए। चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *