
निधिको हृदय परिवर्तनबाट गृह जिल्लाकै व्यक्ति चकित
सुजीतकुमार झा | पौष २०७८
शेरबहादुर देउवालाई पार्टी सभापतिमा कसरी विमलेन्द्र निधिले मत दिए उहाँका गृह जिल्लाका धेरै व्यक्तिलाई विश्वास लागि रहेको छैन । एकपटक अगाडि बढि सकेपछि पछाडी नफर्किने नेताको रुपमा निधिको स्वभाव रहेको उहाँलाई जान्ने चिनिनेहरु बताउँछन । स्वाभावमा नाटकीय परिवर्तन बारे उहाँका निकटका व्यक्तिहरु प्नि छक्क परेका छन । निवासमा देउवा पुगेकै भरमा उहाँको हृदय कसरी परिवर्तन भयो उत्सुकताको विषय अवश्य बनेको छ । कसैले डराएर निधिले एकप्रकारको आत्मसम्र्पण गरेको, कसैले अर्को विकल्प नभएकोले समर्थन गरेको, कसैले अगामी रणनीतिलाई ध्यानमा राखेर समर्थन गरेको अडकल गरिरहेका छन ।
केही वर्ष अघिसम्म सबै भन्दा बढी विश्वासपात्रको रुपमा रहेका निधि गत एक वर्षदेखि देखि देउवाको निकै आलोचना गर्दै आएका थिए । यही आलोचना गर्दागर्दै सभापतिमा उम्मेदवारी समेत दिएका थिए । कतिजना निकटका व्यक्ति देउवामा लाग्दा पनि निधि पछाडी हटेका थिएनन । निकटकै कतिजना जिल्ला नेताहरु बार्गेनिगं समेत गर्दा पनि उनले बरु त्यो नेतालाई मिलाउने काम गरे तर देउवा तिर ताकेका थिएनन ।
शेरबहादुर देउवा खेमाको बलियो नेताको रुपमा परिचित निधिले देउवालाई जिताउन १३ औँ महाधिवेशनमा तनमनले लागेका थिए । देउवाले पहिलो रुचाएका व्यक्ति निधि नै थिए । उनी उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टीका उपसभापतिसम्म भएका छन । तर, १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा र निधि बिच खटपट सुरु हुनुका साथै पुराना साथीहरूले समेत निधिको साथ छाडेका थिए ।
विगतमा निधिको विश्वास पात्रको रूपमा रहेका महेन्द्र यादव, आनन्दप्रसाद ढुंगानाले समेत उनको साथ छोडेपछि प्रदेश-२ बाट महाधिवेशनमा उनले पर्याप्त साथ नपाएका हुन् । ढुंगानाले निधि आफ्नै विरुद्धमा लागेपछि आफूले उनको साथ छोडेको बताए ।
निधिको प्रमुख एजेन्डा नै थियो- कांग्रेसमा नेतृत्व परिवर्तन । उनले भनेका थिए, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौं । तर त्यस्तो हुन सकेनन ।’ निधिले भनेझैं सोमबारको मतदानबाट सभापतिको निर्क्योल हुन सकेनन । दोस्रो चरणमा जाँदा गठजोड भने उनको भनाइविपरीत बन्यो ।
पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह, निधि र कल्याण गुरुङले दोस्रो चरणमा साविक नेतृत्वकै निरन्तरताका लागि शेरबहादुर देउवालाई साथ दिए ।
‘हिजोसम्म तपाईंको लागि नेतृत्व परिवर्तन आवश्यक थियो । तर, आज बिहान बिहानै कुन दिव्यज्ञान आयो जो नेतृत्व जोगाउ फेरि कम्मर कसेरै लाग्नुभयो ?
कसरी सम्भव भएको होला कुन्नि !,’ पत्रकार दीपक कणर्ले प्रश्न नै गरे ।
जानकारहरु भन्छन प्रदेश २ मै निधिको कम मत आएपछि निधि डराएर आत्मसम्पणर् गरेका छन । महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् । कांग्रेसमा रहेर पनि मधेसमा शक्तिशाली व्यक्तिको रुपमा उहाँको पहिचान थियो । यतिसम्म कि मधेशवादी नेताहरु प्नि उहाँको शक्तिलाई नजरअन्दाज गरिरहेको थिएनन । तर निधिलाई प्रदेश २ बाट अप्रत्याशित नतिजा आएपछि उहाँ डराएका छन ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरी १०४, महोत्तरीको क्षेत्र नम्बर ३ बाहेक बाँकी क्षेत्रबाट २६/२६ गरी ७८, सप्तरीको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरी १०४ जना, सिराहा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरि १०५, रौतहट १ बाट २७, २ बाट २६, ३ बाट २८ र ४ बाट २६ गरी १०७, सर्लाही १ बाट २५ र २, ३ तथा ४ बाट २६/२६ गरी १०३, बारा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरी १०५ र पर्सा १, २ र ४ बाट २६/२६ तथा ३ बाट २५ गरी १०३ जनासहित कुल ८०६ महाधिवेशन प्रतिनिधि रहेका छन् । यसमा पनि उहाँलाई अपेक्षा अनुरुप मत आएनन् ।
कतिले उहाँलाई प्रदेश २ मा कम मत आउनुको पछाडीका कारण निधिले प्रदेश-२ बाट कांग्रेसको प्रतिनिधित्व गर्ने पुराना नेताहरूलाई महत्व नदिनुका साथै महाधिवेशन प्रतिनिधि छनोट गर्न पदको दुरुपयोग गरेकोले समेत यस्तो स्थिति सिर्जना भएको हुनसक्ने बताएका छन ।
हुनत चर्चित लेखक रोशन जनकपुरीले विमलेन्द्र निधिलाई यस महाधिवेशनले आफू कांग्रेसभित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताए । उनले मधेश आन्दोलनमासमेत निधिमा कुनै प्रकारको लिगेसी नरहेकाले प्रदेश-२ बाट समेत सोचे अनुरुप मत पाउन नसकेको बताए । निधिलाई उनी आफू कांग्रेस भित्र मधेश तर्फको पिलर रहेको भ्रम थियो, जुन पिलर भत्किएको छ उहाँको कथन रहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजु चौधरीले विमलेन्द्र निधि जी को समर्थन शेर बहादुर देउवा लाई दुई कारणले हुन सकने मा मेरो अनुमान रहेको बताए । ‘एक पहिला नै समझदारी थियो होला, अर्को झन कमजोर हुने डर यी दुई कारण ले समर्थन हुन सक्ने देखिन्छ यस मा पनि उहाँ को रणनीति अझ के हुन सक्छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन । राजुले लेखेका छन ‘उहाँहरू को आन्तरिक विषय को कुरो भयो तर जो पार्टी भित्र र पार्टी बाहिर बाट समर्थन, विश्वास र एउटा आश राखे का थिए तपाई संग त्यो जमात संग धोका भयो…तपाईं को दुई प्रमुख गल्ती ले क्षेत्र र राष्ट्रिय राजनीति मा विश्वास गुमाउनु भयो..पहिलो तपाईं सर्बसहमतीको नाउँमा आफनै क्षेत्र मा नेता-कार्यकर्ता हरू संग धेरै अन्याय गर्नु भयो ।’
महाधिवेशन प्रतिनिधि एवं निधि निकटका नेता प्रफुल्लराज घिमिरेले प्रदेश-२ का कांग्रेसीजन पद र अवसरको लोभमा लागेकोले यस प्रदेशबाट समेत निधिले सोचे अनुरूप मत नपाएको स्वीकार गरेका छन । प्रदेश-२ का मतदाताहरूको बहुमत सदस्यको समर्थन पाएको भए निधि कांग्रेसको बलियो मधेसी छवि भएको नेताको रुपमा उदाउने सम्भावना थियो तर त्यसमा पनि उनि चुकेका छन् । निधिले निर्वाचनको तयारीमा समेत चुकेको र सिमित घेरामा रहेकाले यति थोरै मत आएको राजनीतिका जानकारहरू बताउँछन् ।

देउवाले प्राप्त गरेको मत उनको पक्षमा गठजोड बन्नुको प्रमुख आधार बनेको केही जानकार बताउाछन । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेकामा देउवाले २ हजार २ सय ५८ (४८ दशमलव २५ प्रतिशत) मत पाएका थिए । बहुमत पुर्याउन देउवालाई ८२ मत पुगेन । सरकार र पार्टीको दोहोरो सत्तामा भएका उनलाई यो मत जुटाउन खासै कठिन थिएन । ‘देउवाले प्राप्त गरेको सर्वाधिक मतले उनी दोस्रो चरणबाट सभापति हुन्छन् भन्ने संकेत गरिसकेको थियो, अन्य उम्मेदवारलाई आफूले सहयोग नगरे पनि जितिहाल्छन् भन्ने मनोवैज्ञानिक दबाब पर्यो यही कारण
निधि देउवालाई समर्थन गर्न बाध्य भए,’ प्राध्यापक रुद्रकुमार झा बताउँछन ।
प्रकाशमान सिंह र निधिसँग रहेको मत देउवासँग पनि भावनात्मक रूपमा निकट मानिन्छ । ‘सिंह र निधि उम्मेदवार हुँदा उनीहरूतिर गएको मत स्वाभाविक रूपमा देउवातिर आकर्षित हुने अवस्था थियो,’ कांग्रेसका एक नेताले भने, ‘त्यसलाई रोक्न नसकिने भएपछि दुवै नेता उनको पक्षमा खुलेका हुन।’
‘पान्डेजी आप भि कमाल करते हो…कितना धुरफन्दी करोगे….,’ प्रदेश २ सरकारका एकजना कर्मचारीको समाजिक सञ्जालमा भारतीय सिनेमाको डायलग अहीले चर्चाको विषय बनेको छ ।

सुजीतकुमार झा